पाटन, १९ असार । ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
‘स्थानीय र गुिठयारको विरोधपछि मिचिएको जग्गामा बनेको पर्खाल भत्काउन महानगरले आदेश दिएको थियो, उक्त आदेश अटेर गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. सुमित्रा अमात्य र दिवस अमात्यको घरको कम्पाउण्ड पर्खाल आज दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो’, प्रवक्ता महर्जनले भन्नुभयो ।
चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । ‘वडा नं १० चाकुपाटमास्थित तःननी, चाबा, मिखाबहाल र अमात्य गुठी मिचिएको जग्गामा बनेको संरचना आज हामीले डोजर लगाएर भत्कायौँ । हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरूले भत्काउनुभएन, गुठियारले धेरै आग्रह गरेपछि आज डोजर नै चलाउनुपर्यो’, नगरप्रमुख महर्जनले भन्नुभयो ।
गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहानाबमोजिम मात्र काम हुने उहाँले जानकारी गराउनुभयो । ‘हामी समयसापेक्ष कार्यान्वयन गर्न लागिपर्नेछौँ, सार्वजनिक, पर्ती जग्गा संरक्षण गर्नेगरी महानगरको नगरसभाबाट निर्णयसमेत भएको छ । चार पाँच वटा गुठीको भोज गर्ने स्थानलाई तहसनहस पार्न खोजिएकाले भत्काइदिएका हौँ’, उहाँले भन्नुभयो । पाटनका स्थानीय तथा गुठियार कुलाल डङ्गोलले अमात्यहरुको दुईतले भवन भएको ठाउँ भत्काएर अतिक्रमण गरिएको बताउनुभयो ।
‘पटक–पटक स्थानीयलाई दुःख दिएर गुठीको जग्गा दुरुपयोग गर्न खोजिएको र स्थानीय सरकारलाई लत्याएर गरिएको कामको विरोध गरेका हौँ’, डङ्गोलले भन्नुभयो । तःननी गुठीका गुठियार सुरेशमान महर्जनले गुठीकै आग्रहमा महानगरले संरचना भत्काउने काम गरेको जानकारी दिनुभयो । ‘त्यो सार्वजनिक जग्गा भए पनि गुठीका नाममा लालपुर्जा बनिसकेको छ । कित्ता नं ३१६ मा देवाली गुठीका नाममा चार रोपनी जग्गा छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्