जनता टाइम्स

२९ असार २०८३, सोमबार १७:०२

डुबानपीडितको स्वास्थ्य सुरक्षा प्रदेश सरकारकाे उच्च प्राथमिकतामा : स्वास्थ्यमन्त्री किरण थापा


काठमाडौं, असार २९ । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले बाढी तथा डुबानबाट प्रभावित नागरिकको स्वास्थ्य र सुरक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।

बागमती नदीको बहाव बढेपछि कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टर डुबानमा परेको र त्यहाँ रहेका सुकुम्बासी पीडितलाई भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरिए पछि उनीहरुकाे स्वास्थ्य अवस्था बारे प्रदेश सरकारले उच्च प्राथमिकतामा राखि काम गरिरहेकाे बताउनुभयाे । मन्त्री थापाका अनुसार स्थानान्तरण गरिएका पीडितहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा भक्तपुर अस्पतालको स्वास्थ्य टोलीले आकस्मिक स्वास्थ्य परीक्षण गरेको छ।

स्वास्थ्य परीक्षणका क्रममा थप परीक्षण तथा उपचार आवश्यक देखिएका पीडितलाई अस्पतालमा ल्याई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिने मन्त्री थापाले जानकारी दिनुभयो।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको स्वास्थ्यमा कुनै समस्या आउन नदिन प्रदेश सरकार आवश्यक समन्वय र स्वास्थ्य सेवा प्रवाहमा सक्रिय रहेको उहाँको भनाइ छ। ‘विपद्को यस कठिन घडीमा प्रदेश सरकार पीडितहरूको स्वास्थ्य र सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ,’ स्वास्थ्यमन्त्री थापाले भन्नुभयो।