जनता टाइम्स

२९ असार २०८३, सोमबार २०:३३

केपी ओलीको पालाभन्दा बालेनकालमा दोब्बर बढ्यो महँगी


 गत बर्षको जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । ओली कालमा भन्दा बालेन कालमा महंगै दोब्बर बनेको हो । सरकारले आतंक मच्चाउने र बजारतिर ध्यान दिएर जनतालाई सुविधा पुर्याउनेतिर चासो नै नदिँदा महंगी आकासिएको हो ।

काठमाडौं, असार २८ । अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा महँगी झन्डै दोब्बर बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यो तथ्य उजागर गरेको हो ।

राष्ट्र बैंकका अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो ।  सो बेला २.७२ प्रतिशत रहेकोमा यस बर्ष ५.२२ पुगेको हो । यद्यपि, आव २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको महँगी बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमशः ५.४ र ३.९४ प्रतिशत मात्र थियो ।

गत बर्षको जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । ओली कालमा भन्दा बालेन कालमा महंगै दोब्बर बनेको हो । सरकारले आतंक मच्चाउने र बजारतिर ध्यान दिएर जनतालाई सुविधा पुर्याउनेतिर चासो नै नदिँदा महंगी आकासिएको हो ।

यातायात र भान्सामा उच्च मूल्यवृद्धि

जेठमा उपभोक्ताको भान्सामा प्रयोग हुने फलफूल र घितेलको मूल्यमा भारी वृद्धि भएको छ । तथ्यांक अनुसार फलफूल उपसमूहको मूल्य १७.४० प्रतिशत र घिउ तथा तेलको मूल्य १५.१० प्रतिशतले बढेको छ ।

त्यसैगरी माछामासुको मूल्य ५.२६ र तरकारीको ४.१४ प्रतिशतले बढेको छ । यद्यपि, दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैरखाद्यतर्फ विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत र यातायात मूल्य १५.३१ प्रतिशत बढेको छ । मदिराजन्य पेय पदार्थमा ७.२०, शिक्षा ५.५४ र कपडा तथा जुत्ताचप्पलमा ५.५३ प्रतिशत मूल्यवृद्धि भएको छ ।

कोशी प्रदेशमा सर्वाधिक

जेठमा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी देखिएको छ । ग्रामीण क्षेत्रको मूल्य सूचकांक ४.७८ प्रतिशतले बढ्दा सहरी क्षेत्रको ५.३८ प्रतिशत बढेको छ ।  प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी महँगी कोशी प्रदेशमा ५.७५ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सुदूरपश्चिममा ४.६१ प्रतिशत छ ।

त्यसैगरी मधेस र लुम्बिनीमा समान ५.६२ प्रतिशत, गण्डकी ५.०५, कर्णाली ४.८९ र बागमतीमा ४.७९ प्रतिशत मुद्रास्फीति छ । भौगोलिक क्षेत्रका आधारमा तराईमा सर्वाधिक ५.७४ प्रतिशत महँगी रहँदा पहाडमा ५.०७, काठमाडौं उपत्यका ४.९८ र हिमालमा ३.७१ प्रतिशत महँगी छ ।

थोक मुद्रास्फीतिमा उछाल

उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीतिमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो वर्ष जेठमा १.५६ प्रतिशतमात्र रहेको थोक मुद्रास्फीति यस वर्ष जेठ आइपुग्दा ८.४७ प्रतिशत पुगेको छ । यस अवधिमा उपभोग्य वस्तुको थोक मूल्य १ प्रतिशतले घटे (ऋणात्मक) पनि मध्यवर्ती वस्तुको १४.६४ प्रतिशत र पूँजीगत वस्तुको ४.७८ प्रतिशत बढेको छ । निर्माण सामग्रीको थोक मूल्य पनि ३.०९ प्रतिशत महँगिएको छ ।

राष्ट्र बैंकको तथ्यांकले नेपालको तुलनामा भारतमा महँगी दर कम रहेको देखाएको छ । जेठमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहँदा सन् २०२६ मे महिनामा भारतको यस्तो मुद्रास्फीति ३.९३ प्रतिशतमात्र रहेको छ ।