जनता टाइम्स

२९ असार २०८३, सोमबार १९:३२

वास्तुशास्त्रलाई वैज्ञानिक सोच र आधुनिक प्रविधिसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य


रुपन्देही, असार २९। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दिगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो। “वास्तुशास्त्रलाई केवल परम्परागत ज्ञानका रूपमा सीमित गर्नु हुँदैन। यसलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडेर विकास गर्न आवश्यक छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “परम्परागत ज्ञान र आधुनिक प्रविधिबीच समन्वय गर्दै सुरक्षित, वातावरणमैत्री र दिगो संरचना निर्माणमा यसको उपयोग गर्न सकिनुपर्छ।”

उहाँले वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान र व्यावहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो। “वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलनको अवधारणा अघि सारेको छ,” उहाँले भन्नुभयो, “यसको अध्ययन र अनुसन्धानलाई अझ प्रभावकारी बनाउँदै व्यावहारिक प्रयोगलाई वर्तमान समयअनुकूल विकास गर्नुपर्छ।”

मुख्यमन्त्री आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा मात्र हेर्न नहुने उहाँको भनाइ थियो। “वास्तु, ज्योतिष तथा हाम्रा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा व्याख्या गर्नु हुँदैन,” उहाँले भन्नुभयो, “अनुसन्धान, अध्ययन र प्रमाणका आधारमा यसको व्याख्या तथा विकास गरिनुपर्छ।”

उहाँले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई मौलिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो। प्रदेश सरकारले ज्ञान, संस्कृति र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखेको पनि उहाँले जानकारी दिनुभयो।

सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । आयोजकका अनुसार सम्मेलनमा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यावहारिक प्रयोगका विभिन्न विषयमा छलफल गरिनेछ।