जनता टाइम्स

३० असार २०८३, मंगलवार २०:५९

मन्थलीमा साढे पाँच करोडको शीतभण्डार निर्माण, कृषि उपजले उचित मूल्य पाउने किसानको आशा


रामेछाप, असार ३० । रामेछापका किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित राख्न र उचित मूल्यमा बिक्री गर्न सहज बनाउने उद्देश्यले सदरमुकाम मन्थलीमा शीतभण्डार निर्माण गरिएको छ। जिल्लामै पहिलोपटक निर्माण भएको शीतभण्डार सञ्चालनमा आएपछि कृषि उपज भण्डारणको समस्या कम हुने अपेक्षा गरिएको छ।

बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाको लागत साझेदारीमा शीतभण्डार निर्माण सम्पन्न भएको हो। कुल लागतमा प्रदेश सरकारले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम व्यहोरेका छन्।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाका अनुसार २०७५ सालदेखि निर्माण सुरु भएको शीतभण्डार ५ करोड ३० लाख ९५ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो। शीतभण्डार परिसरको घेराबारा र पालेघर निर्माणका लागि बागमती प्रदेश सरकारले थप ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो।

नवनिर्मित शीतभण्डारको मंगलबार बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले किसानको आर्थिक अवस्था सुधार र कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष कार्यक्रम अघि सारेको बताउनुभयो। आगामी आर्थिक वर्षदेखि बागमती प्रदेशका सबै जिल्लामा कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना गरिने उहाँले जानकारी दिनुभयो।

किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न १० लाख रुपैयाँसम्मको ऋणमा लाग्ने ब्याज प्रदेश सरकारले तिरिदिने व्यवस्था गरिएको मन्त्री पौडेलले बताउनुभयो। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानलाई आर्थिक रूपमा सबल बनाउने प्रदेश सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो।

मन्थलीमा निर्माण भएको शीतभण्डारको अधिकतम उपयोग गर्न किसानलाई आग्रह गर्दै मन्त्री पौडेलले यो संरचना किसानका लागि वरदान सावित हुनुपर्ने बताउनुभयो। शीतभण्डारको प्रभावकारी सञ्चालन र सदुपयोगमा सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगर कार्यपालिकाबाट आवश्यक कार्यविधि तयार गरी शीतभण्डार व्यवस्थित रूपमा सञ्चालन गरिने बताउनुभयो। किसानले समयमै पर्याप्त रासायनिक मल प्राप्त गर्न नसकेको समस्या उठाउँदै उहाँले मलको सहज आपूर्तिका लागि प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो।

रामेछापमा यसअघि शीतभण्डारको सुविधा नहुँदा किसानले उत्पादन गरेका फलफूल, तरकारी तथा अन्य कृषि उपज लामो समयसम्म सुरक्षित राख्न समस्या थियो। उत्पादन भएको समयमा तत्काल बिक्री गर्नुपर्ने बाध्यताका कारण किसानले अपेक्षित मूल्यसमेत पाउन सकेका थिएनन्।

मन्थलीमा शीतभण्डार निर्माण भएसँगै किसानले आफ्ना कृषि उत्पादन सुरक्षित राखेर बजारको माग र मूल्यअनुसार बिक्री गर्न सक्ने अपेक्षा गरिएको छ। बेमौसममा समेत कृषि उपज बजारमा पुर्‍याउन सकिने भएकाले किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि उत्पादनको बजारीकरण र मूल्य संरक्षणमा शीतभण्डारले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।