जनता टाइम्स

२६ असार २०८१, बुधबार १७:१२

माओवादीको निष्कर्ष – प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार बन्छ


काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलबारे जानकारी गराएको बताउनुभयो ।

प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिनुभयो । उहाँले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडी बढ्ने निर्णय गरेको बताउनुभयो । पाण्डेले भन्नुभयो,‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’