जनता टाइम्स

३१ असार २०८१, सोमबार २२:२९

पद बहालीकै दिन प्रधानमन्त्रीले मन्त्रीलाई दिए एक महिने गृहकार्य


काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथपछि सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय मन्त्रालयमा पदबहालीपछि बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले महिना दिनभित्रै परिणाममुखी काम गरेर जनतामा आशा जगाउने अभियान थाल्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही न केही फरक र उत्साह भर्ने खालको परिणाममुुखी काम गरेर देखाउन निर्देशन दिनुभएको सरकारका प्रवक्ता सचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

’सम्मानीय प्रधानमन्त्रीले क्याबिनेटका प्रत्येक मन्त्रीलाई एक महिनाभित्र केही न केही फरक र परिणाममुखी काम गरेर देखाउन निर्देशन दिनुभएको छ । उहाँले स्टण्ड होइन, जनताले परिणाम महसुस गर्ने खालको काम गर्न सवै मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो,’ मन्त्री गुरुङले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले यो सरकारले अब केही न केही गर्छ भन्ने सन्देश दिनलाई एक महिनाको सीमा तोक्नुभएको हो । महिना दिनभित्रै प्रभावकारी काम गरेर देखाइ नागरिकमा उत्साह भर्नुपर्ने निर्देशन प्रधानमन्त्रीले दिनुभएको मन्त्री गुरुङले बताउनु भयो ।