काठमाडौं, भदौ २७ । हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन। २०८० कात्तिक १४ मा जुवा खालबाट पक्राउ परेका इकु पुनः हात्तिगौंडाबाट ठगी आरोपमा पक्राउ परेका हुन।
यसपटक क्यानडा, अस्ट्रेलिया र कोरिया पठाउँछु भनेर रकम असुलेर ठगेको आरोपमा उनी पक्राउ परेका हुन । ललितपुरको धापाखोल घर भएर धुम्बाराही बस्ने ४० वर्षीय इकुलाई भदौ २५ मा बुढानीलकण्ठबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीले बताउनु भयो । ‘आरोपीले युरोपियन मुलुक पठाउने सपना देखाएर ४ जनासँग १७ लाख असुलेको भेटिएको छ ।’
जिल्ला अदालत काठमाडौँले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । इकुविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिनुभयो । ४ जना पीडितहरूमध्ये उनले एक जनासँग ९ लाख रकम लिएको भेटिएको छ । ‘प्रक्रिया खर्च’ को नाममा उनले ४ लाख, २ लाख र १ लाख रकम लिएर सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ ।
विदेशमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा ‘कलाकार भिषा’ मा पठाउँछु भनेर इकुले रकम असुले प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । कमर्सियल बैंकको ‘ब्यालेन्स सिट’ लगायतका कागजात उनले नक्कली बनाउने गरेको भेटिएको छ । प्रहरी उपरीक्षक बोगटीले भन्नुभयो, ‘उनले बनाएको कमर्सियल बैंकको नक्कली कागजात फेला परेको छ ।’
उनले काठमाडौँमा एसएमएस फिल्मस् प्रालि नामको कम्पनी सञ्चालन गरेका छन् । सो कम्पनीको खातामा उनले पीडितहरूलाई रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन भएको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्