मुस्ताङ, कात्तिक १० । मुस्ताङमा लेक लागेर तीन दिनमा दुई विदेशी नागरिकसहित तीन पर्यटकको मृत्यु भएको छ । मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन जनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिप्रका मुस्ताङका प्रमुख डीएसपी सूर्यबहादुर बोगटीले मुक्तिनाथ दर्शन गर्न आएका दुई विदेशी र एक नेपालीको लेक लागेर मृत्यु भएको जानकारी दिनुभयो । प्रहरीका अनुसार गोरखा घ भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार मुस्ताङ भ्रमणका लागि साथीहरूसँगै आएका जोशी घरपझोङ—४ जोमसोमस्थित होटल मेसोकोन्दोमा बास बस्नुभएको थियो । राति टाउको दुखेपछि होटलको डाइनिङ हलमा ढलेका जोशीलाई होटल कर्मचारी र प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनाको समूह थासाङ गाउँपालिका—२ होलिडे क्याम्पमा बास बसेको थियो । जसमध्ये अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९ नाम गरेका पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पुर्याउँदा मृत्यु भएको डीएसपी बोगटीले बताउनु भयो ।
बिहीबार नै होटलमा बास बसेका अमेरिकन नागरिक गोल्डेसेजर भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । उनी कोठाको बाथरुममै ढलेर अचेत बनेका थिए । उनलाई इलाका प्रहरी कार्यालय लेते र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुस्ताङ अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै शुक्रबार नै मुक्तिनाथ दर्र्शन गरी फर्किएकी एक भारतीय महिला पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पुर्याउँदा मृत्यु भएको डीएसपी बोगटीले जानकारी दिनुभयो । मुक्तिनाथ दर्शन गर्न आएकी भारत महाराष्ट्र मुम्बई, अधेरी वेष्ट वर्सोवा पिन ४०००६१ घर भएकी ६९ वर्षीया शारदा महादेव लगडे नाम गरेकी भारतीय महिला पर्यटकको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर अचेत भएकी थिइन ।
मृतक महिलाका दाइ राजेन्द्र शान्ताराम कठितले प्रहरीलाई खबर गरेपछि प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पुर्याइएको थियो । उनलाई पनि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी बोगटीको भनाइ छ ।
मुस्ताङका उच्च क्षेत्रमा स्वास्थ्य परीक्षणविना एकैपटक होल्डिङ नगरी पर्यटक जाँदा लेक लाग्ने समस्या देखिने गर्छ । विशेषगरी ज्येष्ठ नागरिक, दीर्घ रोगी भएका पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । खानपानमा ध्यान नदिने र चिसो कुण्डमा स्नान गर्दा समेत लेक लाग्ने समस्या रहन्छ ।
प्रतिक्रिया दिनुहोस्