काठमाडौं, कात्तिक ५
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको दुई नम्बर प्रदेशमा गुटगत समस्या अझै सुल्झिएको छैन । केही समयअघि प्रदेश कमिटी र जिल्ला कमिटी गठनको विषयमा त्यहा दुई गुट स्पष्ट देखिएका हुन् ।
जिल्ला कमिटीको चयनमा एकलौटी गरेको भन्दै नागेन्द्र चौधरी, रामचन्द्र झालगायतले विरोध गर्दै आएका छन् । प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु शाह र सचिव सुमन प्याकुरेलले एकलौटी जिल्ला कमिटी चयन गरेको आरोप अर्को पक्षले लगाउँदै आएको छ । दुवै पक्षले एकले अर्कालाई कारवाहीको माग गर्दै केन्द्रमा ज्ञापनपत्र समेत दिएका छन् । रामचन्द्र झा पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पनि कारवाहीको माग गरेका छन् । जसका कारण झा र महासेठबीच पानी बाराबारको अवस्थामा रहेको छ ।
यसैक्रममा मंगलबार धनुषाको महेन्द्रनगरमा आयोजित कार्यक्रममा झाले महासेठ भ्रष्टचारी भएको सार्वजनिक मञ्चबाटै घोषणा गरेका छन् । भ्रष्ट्राचारको कसुरमा महासेठ छिटै जेल जाने ठोकुवा गरेका हुन् । ‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुन्छ, ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो’, झाले भने,‘छिट्टै उनी जेल जीवन बिताउन तयार भए हुन्छ।’ नेता झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएको चिन्ता व्यक्त गरे ।
नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अर्का नेताको आलोचना गरेका हुन् । केही समय अघि सचिवालय बैठकले पार्टीका विषयमा कुनै कुरा राख्नुपर्ने भए बैधानिक रुपमा राख्न नभए कारवाही भोग्नुपर्ने परिपत्र गरेको थियो । तर, पार्टीभित्रैका नेताहरु सार्वजनिक मञ्चबाटै एक अर्का विरुद्ध खनिन थालेपछि कार्यकर्तामा चिन्ता बढ्न थालेको छ । प्रदेश–२ का स्थानीय कार्यकर्ताले दुई नेताबीचको लडाईले पार्टीलाई निक्कै घाटा हुने बताउन थालेका छन् ।
यद्यपी यी दुई नेताबीचको लडाई भने तत्काल शुरु भएको होइन् । तत्कालिन एमाले पार्टी हुँदाको बखत नै यी दुई नेताबीच आफ्नो अस्तित्वको लडाइ चल्ने गरेको थियो । जसका कारण झा एमाले परित्याग गरेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए । तर, अहिले पार्टी एकीकरण भएपछि दुवै नेता एउटै पार्टीमा रहेका छन् । जसका कारण उनिहरुबीच पुन अस्तित्वको लडाइ भईरहेको कार्यकर्ताले आभास गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्