धुलिखेल, माघ २६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको क्षतिग्रस्त खण्डमा तुरुन्त पुनर्निर्माणको काम सुरु गर्न निर्देशन दिनुभएको छ । आज सो राजमार्गको निरीक्षण गर्ने क्रममा उहाँले वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी काम सुरु गर्न आग्रह गर्नुभएको हो ।
उहाँले उक्त कार्यका लागी स्रोत अभाव हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो । यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसँग जोड्ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघि बढाउन सडक विभागलाई निर्देशन दिनुभयो । अनुगममा नै रहनुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन गरेर काम सुरु गर्नुपर्ने बताउनुभयो । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अल्पकालीन र दीर्घकालीन तयारी सहित मर्मत र पुनर्निर्माणको काम थालिने बताउनुभयो ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगम कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सडकको अवरोध हटाउने तथा तत्काल गर्नु पर्ने मर्मतको काम भई रहेको बताउनुभयो । आयोजनाका प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भई रहेको सुनाउनुभयो । टोलीले बीपी राजमार्गको धुलिखेल देखि नेपालथोक सम्मको निरीक्षण तथा अनुगमनमा सडक विभागका उप–महानिर्देशक अर्जुन अर्याल, सडक डीभीजन भक्तपुरका प्रमुख तथा प्राविधिकलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्