जनता टाइम्स

१३ फाल्गुन २०८१, मंगलवार १६:१४

पूर्वराजालाई ठाकुर गैरेको चेतावनी : जनताको संयमतालाई कमजोरी ठान्ने भूल नगर्नाेस


काठमाडौं, फागुन १३ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने दुश्प्रयाश गरेको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विशेष समयमा बोल्दै एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सांसद गैरेले पूर्वराजाले अनावश्यक चलखेल गरेको बताउनु भयो । पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडिओ सन्देशले शहीदहरूको अपमानसमेत गरेको बताउनु भयो ।

‘फागुन ७ गते पूर्वराजाले नेपालका शहीदहरू, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने शहीदहरूप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरे,’ सांसद गैरेले भन्नुभयो । पूर्वराजा शाहले संविधान उल्लंघन र निरंकुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको तथ्यलाई समेत उहाँले स्मरण गराउनु भयो ।

‘संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस । हामीलाई कुनै आपत्ति छैन । तर, संविधान उल्लंघनको कोषिस भयो भने पूर्वराजाको हैसियतलाई कसैले रोक्न सक्ने छैन,’ गैरेले भन्नुभयो, ‘राजाले ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने कोशिष गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे ।

निरंकुशता लाद्ने र दलहरूलाई बन्देज लाउने कोशिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।’ एमाले नेता गैरेले पूर्वराजाले जनताको संयमतालाई कमजोरी नठान्न चेतावनी पनि दिनुभएको छ । ‘पूर्वराजाले जनताको संयमतालाई कमजोरी ठान्ने भूल गरेको भिडियो सन्देशले देखायो । त्यस्तो भूल नगर्नोस,’ गैरेले भन्नुभयो ।