जनता टाइम्स

९ बैशाख २०८२, मंगलवार ०९:२८

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन


सोलुखुम्बु, ९ वैशाख  ।  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटेलहरू भरिभराउ भएका हुन् ।
६०८ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उनले जानकारी दिए । श्रेष्ठले नाम्चेको यात्रामा ६५२ विदेशी र १५१ जना नेपाली रहेका बताए ।

वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटेलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताए । मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको संख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए ।

उनले भने, “लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ । सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटेलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन् ।”