जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार १८:०३

यस्ता पनि कसरी हुनसक्छन मदनका अनुयायी ?


मदनका अनुयायी हुँ भन्ने यी नेताहरुले ठीक उल्टो काम गर्नुभयो । ‘मैले केही पाउँदिन भने त्यो पार्टीमा म किन बसिरहने ? भन्दै बामदेवले साहना प्रधानलाई उचालेर २०५४ र माधव–झलनाथले ‘केपीले समाप्त पार्न लाग्यो, बचाइदिनोस’ भन्दै इमोशनल ब्ल्याकमेलिङ गरेर २०७८ मा पार्टी बिभाजन गरी आफ्नो पद र प्रतिष्ठाका लागि मात्रै ‘जवज’ मानिदिएका हौं, मदनका अनुयायी भनिदिएका हौं, हामी मदनका अनुयायी र ‘जवज’वादी हुँदै होइनौं भन्ने प्रमाणित गर्नुभयो । 

गणेश बस्नेत

आज जेठ ३ गते अर्थात मदन–आश्रित स्मृति दिवस । ३२ वर्ष अगाडि आजैका दिन दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा परी नेपाली कम्युनिष्ट आन्दोलनका नायक जननेता मदनकुमार भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको दुःखद निधन भएको थियो । आफ्नै आमा गुमाउँदाको पीडासमेत अनुभुति गर्न नसकेको यस पंक्तिकारले त्यही दिन अर्थात २०५० जेठ ३ गते कसैको निधनमा आँखाबाट अश्रुधारा बगाएको थियो । अनि मनभित्रको मान्छे गुमाउँदाको पीडा पहिलो पटक महसुस गरेको थियो । १८ महिनाको दुधे बालकमै आमाले छाडेर जानुभयो । सानैमा आमाले छाडेर गएको कठोर सत्यसहित बुवासँग आमाको फोटो हेरेर अश्रुधारासहित एकलरुपमा परिचित हुनुपरेको कारण होला, कसैको मृत्यूमा त्यत्ति धेरैपीडा महसुस गरेको थिईंन । गाउँघरमा कोही मर्यो भने मलामी जाने गरिन्थ्यो तर आँखा कहिल्यै रसाएन ।

यहाँसम्मकी आफ्नै काका जो हेडरस हुनुहुन्थ्यो, उहाँको मृत्यूमा पनि यस्तो पीडा भएन । मदन–आश्रितको हत्या भयो भन्ने कुरा सुनेपछि त्यो पीडा महसुस गरायो । त्यही बेला हो दिगमा सारै हल्लिएको र बिचलित भएको । ‘मानव जातीलाई जोडने एक मात्र सुत्र बिचार हो । सही बिचारले मात्रै दुनियाँ बदल्न सकिन्छ भन्ने महसुस भयो । मदनले मलाई चिन्नु हुन्न थियो, सामुन्नेमा भेट पनि कहिल्यै हुन पाएन । तर मदनप्रति किन यस्तो अगाध स्नेह ? अहिलेसम्म आफैले आफैलाई बारम्बार प्रश्न गरिरहेको तर चित्तबुझ्दो जवाफ नपाएको अवस्था छ । त्यो जवाफ बिचार नै हो भन्ने कुरामा चाँहि लेखकमा भ्रम छैन ।

पञ्चायती ब्यवस्था फालेपछि कम्युनिष्टहरुमाथि लगाइएको आरोपले दिमागलाई तीब्र यातना दिइरहेको बेला मदनले अघि सार्नुभएको बिचार र अभिब्यक्तिले मनमा शान्ति मिलेको थियो । जनआन्दोलनपछि भएको २०४८ सालमा भएको पहिलो निर्वाचनताका नेकपा एमाले र कम्युनिष्टहरुमाथि मुलत दुईवटा आरोप लगाइएको थियो । पहिलो थियो, ‘कम्युनिष्टहरु अधिनायकवादी शासन ब्यवस्था लाद्छन । बोल्न पनि दिन्नन, रुन र हाँस्न पनि पाइन्न । एकदलीय पञ्चायती ब्यवस्था फालेर यस्तो क्रुर अधिनायकवादी शासनको कल्पना गर्न सकिन्न ।’ दोस्रो–कम्युनिष्टहरु चीनमा पानी पर्यो भने नेपालमा छाता ओढेर हिडछन । यिनीहरुबाट के अपेक्षा गर्ने ?’

यी आरोप हाम्रो गाउँधरतिर फैलिएको थियो । हो कि क्या हो ! भन्दै हजुरआमा–हजुरबुवाहरु नै ‘तेरो एमालेले त हामीलाई नै मार्छ रे नि त !’ भन्दै सोध्नुहुन्थ्यो । गुरुहरुको मार्गदशनका आधारमा पारिवारिक बिराशत फालेर कम्युनिष्ट पार्टीको सदस्य भएका हामीलाई यी दुई अरोपको खण्डन गर्न हम्मेहम्मे परिरहेको बेला मदनको भाषणले जवाफ दिनसक्ने गरी आत्मबिश्वास जगाएको थियो । यही आत्मबिश्वासले मदनले हामीजस्ता लाखौं युवाहरुको मनमस्तिष्कमा डेरा जमाउनु भयो । त्यही कारण होला स्वर्गीय जेबी टुहुरेले गाउनुभएको गीत ‘मृत्यू पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरा मर्दा देशै रुदो रैछ’ भन्ने गीतको भाव बुझेको अनि दिल र दिमागमा जनताका नायक भनेर अटल छाप बसेको ।

जनताका नायक बितेको ३२ बर्ष पुग्यो । यसबीचमा उहाँको बिचार दुनियाभर फैलिएको छ । उहाँले नेतृत्व गरेको पार्टी नेकपा एमाले सरकारको नेतृत्वमा छ । अल्पमतको सरकारबाट सुरु गरेको यात्रापछि एमाले माधवको सनकको सिकार भएको २०६४ को निर्वाचनबाहेक कहिल्यै कमजोर बन्नुपरेको छैन । सरकारमा कहिले नेतृत्व त कहिले सहभागी भइरहेको छ । तर आजको युवा पुस्ताले ‘को हो मदन भण्डारी ? भन्ने प्रश्न सोध्न थालेका छन । अमेरिका र युरोपतिर जन्मिएको भए मदन महान दार्शनिकका रुपमा यतिबेला स्थापित हुनुहुन्थ्यो । धरासायी बन्दै गएको बिश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ उर्जा दिएर जनतामाझ लोकप्रिय बनाउने उहाँकै सोचले फेला परेको हो । त्यसैले अमेरिकी पत्रिकाले नेपालमा कार्लमाक्स जिवित छन भनेर लेखेको थियो ।

कम्युनिष्ट आन्दोलनका लागि मात्रै होइन, नेपाल राष्ट्र र नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय रहेका छन । मदन भण्डारी नवीन विचारका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक हुनुहुन्थ्यो । नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन, बिश्लेषण, अनुसन्धान र समीक्षामा आधारित भएर मदनले ‘जबज’ प्रतिपादन गर्नुभयो । माक्र्सवादका विश्वव्यापी सच्चाइलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा व्यवहारमा ठोश रुपमा लागू गर्ने क्रममा आविर्भाव भएको ‘जबज’ आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको छ । यसैको जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाईमा मदनले प्रतिपादन गर्नुभएको ‘जबज’ ले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ । विगत दशकहरुमा नेपाली समाजमा देखापरेको हिंसात्मक आन्दोलनको शान्तिपूर्ण अवतरण, एकदलीय शासन व्यवस्थाका पक्षधरहरु लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता स्वीकार्न तयार भएको अवस्था र नवउदारवादका पक्षधरहरु समेत सामाजिक न्याय र लोककल्याणकारी समाज व्यवस्थाका पक्षमा उभिन वाध्य भएको स्थितिले ‘जबज’को सहीपना अकाट्य ढङ्गले पुष्टि भएको छ । समाजवाद निर्माणको आगामी यात्रामा पनि ‘जबज’ले निरन्तर मार्गदर्शन गरिरहने छ ।

सिद्धान्तकारका रुपमा मात्र होइन, पञ्चायतबिरोधी आन्दोलनलाई सफल बनाउने ठोश कार्यनीतिका योजनाकार र नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर हुनुहुन्थ्यो पनि हुनुहुन्थ्यो मदन भण्डारी । तत्कालीन नेकपा मालेलाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै त्यसबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न उहाँले नै  अगुवाइ गर्नुभयो । संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो अनि उहाँले नै राजा र हाम्रो घाँटी जोडिएको छ भन्दै दलदलमा फसेको नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो ।

यही निरन्तरको प्रयाशले नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नसकेको संयुक्त जनआन्दोलनको कार्यदिशा मदनको नेतृत्वकालमा सफल भयो । यस्तै मदनले लोकतन्त्रलाई जनताको जीवनमा उज्यालो ल्याउने गरी राजनीतिक अधिकारको सङ्कुचित दायराबाट बाहिर निकालेर सामाजिक जीवनका समग्र पक्ष एवं मानवीय आकांक्षाको समष्टिका रुपमा नयाँ उचाइबाट परिभाषित गर्नुभयो अनि जनताको जीवनसँग जोडिन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुन सक्ने कुरामा विशेष जोड दिनुभयो ।

 

‘जबज’ले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण गर्न अनि प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ । जवजकै कारण ‘बिद्रोहबाट मात्रै परिवर्तन संभव छ’ भन्दै हिंसा मच्चाएर रगतको खोलो बगाएको नेकपा माओवादी प्रचण्डपथ त्यागेर शान्तिपूर्ण बाटोबाट नै परिवर्तन संभव छ भन्ने निश्कर्षका आइपुग्न बाध्य भयो । यस्तै राजतन्त्रको वकालत गर्दै २०४७ सालको संबिधानमा ‘कमा–फुलस्टप’ समेत चलाउन सकिन्न भन्ने नेपाली कांग्रेस पनि जवजकै मार्गदर्शनले राजतन्त्र फाल्ने बिन्दुमा आइपुग्यो । जस्को परिणाम मुलुक गणतन्त्रमा आइपुगेको छ । यो सच्चाइले मदन भण्डारी कति ठूलो दार्शनिक हुनुहुन्थ्यो ? कति दूरदर्सी नेता हुनुहुन्थ्यो भन्ने प्रष्ट तस्विर उजागर गरेको छ । यस्तै मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक हुनुहुन्थ्यो ।

मदनले नेपालको राष्ट्रिय हित रक्षाका लागि अविचलित अडान राख्दै राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित समेत गर्नुभयो । ती मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेका छन् । सिद्धान्तको निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने मान्यता राख्नु हुने, राष्ट्र र जनताको हितमा अविचलित ढङ्गले उभिने र अत्यन्त प्रभावकारी भाषामा जनतालाई सम्वोधन गर्न सक्ने नेता मदन भण्डारी भूमिगत जीवनबाट सार्वजनिक भएको छोटो समयमै जनतामाझ अत्यन्त लोकप्रिय हुनुभयो । सार्वजनिक सर्वेक्षणमा शताब्दी नायकका रुपमा चयन हुनुभएका मदन भण्डारी नेपाली जनताको मनमा ‘जननेता’का रुपमा स्थापित हुनुभएको छ ।

चीन र रुसमा पानी पर्यो भने नेपालमा छाता ओढनुपर्छ भन्दै जडसुत्रवादमा नराम्रोसँग फसेका कम्युनिष्ट नेताहरुलाई बाटो देखाउँदै हरेक देशले आफ्नो बिशेषता अनुकूल माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्छ भन्ने मान्यताका आधारमा नेपालको मौलिक परिस्थितिलाई जनताको बहुदलीय जनवादमार्फत संश्लेषण गरेर मदनले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिनुभयो । हतियारबन्द आन्दोलन नै कम्युनिस्टहरूको एकमात्र बाटो हो भन्ने गलत मान्यतामाथि ‘जबर्जस्त हस्तक्षेप गर्नुभयो अनि जनताका बीचमा जाने र जनताले निर्धारण गरिदिएको स्थानमा खुसीसाथ बसेर जनताको विश्वास जित्न प्रयाश गर्ने कुरालाई मदनले जवजमार्फत सिद्धान्तकृत गर्नुभयो । आफ्नै माटोअनुसारको बाटो रोज्दा मात्रै जनताको बिश्वास जित्न सकिन्छ, सफल भइन्छ भन्ने सच्चाइलाई दुनियाँसामू स्थापित गर्नुभयो ।

बिश्व कम्युनिष्ट आन्दोलनको अनुभवबाट प्राप्त शिक्षा थियो मदनको यो बिचार  । हुन पनि क्रान्तिकै कुरा गर्दा मजदुरमा आधारित भएर जसरी सन् १९१७ मा रूसी जनवादी क्रान्ति सम्पन्न भयो, त्यसैगरी चीनमा सन १९४९ मा क्रान्ति सम्पन्न भएन । क्युबा, भियतनाम, लाओस र उत्तर कोरियामा पनि आआफ्नै शैली रहे । त्यही मौलिकताका कारण तिनीहरू आजपर्यन्त टिकिरहेका छन । नेपालमा पनि चीन वा रूसको नक्कल गरेको भए यो आन्दोलन उहिल्यै विसर्जनको दिशामा पुग्नेथियो । जुनकुरा छिमेकी मुलुक भारको पश्चिम बंगालको इतिहास हेर्दा काफी हुन्छ । पश्चिम बंगालमा नक्सलाइटहरूको असफलतालाई नजिकबाट देखेको र त्यहीं भाकपा माक्र्सवादीको राजनीतिको अनुभवले पनि नेपाली क्रान्तिको बाटो चयन गर्न मदनलाई सफलता मिल्यो । जडसुत्रवादमा नराम्रोसँग जकडिएको कम्युनिस्ट आन्दोलनलाई सानोतिनो हिम्मत र मेहिनेतले त्यसबाट बाहिर ल्याउन सम्भव थिएन, जुन काम मदन भण्डारीको विराट व्यक्तित्वका कारण सम्भव भयो ।

मदनले बिश्व कम्युनिष्ट आन्दोलन, नेपाली कम्युनिष्ट आन्दोलन र नेपालप्रति जे गर्नुभयो, त्यो काम अरुले गर्न सकेका छैनन । यो सच्चाइ हो । अव हामीले मदनप्रति साँच्चीकै श्रद्धाञ्जली अर्पण गर्ने हो भने ब्यवस्था मात्रै होइन, ग्रामीण बस्तको झुपडीसम्मको अवस्था बदल्न उहाँले गहन अध्ययन र अनुसन्धानबाट निश्कर्षका रुपमा अघि सार्नुभएको प्रेरणादायी भनाईलाई आजबाटै अनुशरण गर्नुपर्छ । अनि ‘म गरिदिन्छु’ होइन, ‘म गर्छु’ भन्ने दृढ अठोट गरौं । मदनकै बिचारमा झुम्मिएका नेकपा एमालेकै नेतादेखि कार्यकर्तासम्ममा तोकिएको जिम्मेवारीतिर हेर्दै नहेर्ने, अवसर लिनेबाहेक अरुतिर सोच्दै नसोच्ने, तोकिएकाबाहेक सवै जिम्मेवारी पूरा गर्ने डरलाग्दो रोग देखिएको छ । यस्तै आफूबाहेक सवै रुपान्तरण हुनुपर्ने, आफूचाँहि टसका मस नहुने अनि पद र अवसर जति सवै आफैलाई चाहिने, जिम्मेवारी चाँहि अर्कैले पूरा गरिदिनु पर्ने अर्काे डरलाग्दो रोग पनि एमाले नेता–कार्यकर्ता पङ्तीमै फैलिएको छ ।

नेतृत्व तहमा पनि अवसरको सवालमा एउटैलाई ‘पटक–पटक’ दिने रोग हावी भएको छ । अवसर लिनेहरुलाई नै अवसरमा प्राथमिकताको नीति ‘जवज’को अनुशरण हुँदैहोइन, ठीक बिपरित हो । पार्टी काम, जनताको काम गरोस कि नगरोस, योग्य होस कि नहोस, आफ्नो दैलोमा माग्न आएपछि पोल्टामा हालिदिइहाल्ने कुराले न पार्टी बन्छ, नत जनताको माझमा पार्टीको बिचार नै स्थापित गर्न सकिन्छ । यस कुरामा नेतृत्व सजग भई अहिलेसम्म भइरहेको यसप्रकारको त्रुटी सच्याउन जरुरी छ । अव अवसर मैले लिनुपर्छ, काम अरुले मात्रै गर्नुपर्छ, पद मैले पाउनुपर्छ, जिम्मेवारी अरुले नै पूरा गर्नुपर्छ भन्ने एमालेभित्र झाँगिएको रोगको निदान खोज्नैपर्छ । बिरोधीले ढोका ढकढक्याएको मात्र होइन, घरभित्रै पसेर हमला गर्दासम्म चुपचाप बस्ने, अवसरको गन्ध आयो भने मात्रै निन्द्राबाट कुम्भकर्ण जागे जसरी जागर जुरुक्क उठने अहिलेको ब्यवहार मदनको बिचारसँग फिटिक्कै मेल खान्न ।

‘तपाईलाई चित्त नबझे पनि म मेरो कुरा भन्छु’ भन्ने मदनका अनुयायीहरु ‘अगाडि राम्रोबाहेक केही नदेख्ने, पछाडि नराम्रोबाहेक केही नदेख्ने–नबोल्ने’ हुनै सक्दैनन । समृद्ध नेपाल, सखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने दृढसंकल्पसहित अभियानमा जुटेको एमालेको सिंगो पङ्तीले आजको दिन यो तितो यथार्थलाई आत्मसाथ गरी सत्य कुरा बोल्न नछाडने, झुटो कुरासँग कँहीकतै सम्झौता नगर्ने अठोट लिन जरुरी छ । पछिल्लो समय मदनसँग घुमघाम गरेका सहकर्मीदेखि भेटघाट र अन्तवार्ता लिएका ब्यक्तिहरुसमेत मदनको बदख्वाईं गर्न निकै लागिपरेका छन । कहिल्यै मदनको बिचार र ब्यवहार अनुशरण नगरेका पाखण्डहरु ‘मदन भण्डारी भइदिएको भए…’ ‘मदनसँगको निकटता…’ भनेर एमालेका अध्यक्षदेखि सिंगो पार्टी पङ्तीबिरुद्ध गोलावारी गरिरहेका छन । यो मिसनमा मदनसँगै हिडेका, एमालेकै नेतृत्व गरेका नेतादेखि लेखकसम्म लामवद्ध बनेका छन ।

जननेता मदन भण्डारीलाई सम्झिरहँदा उहाँका समकालिन भनिएका नेताहरु नै ‘जवज’को बाटोभन्दा सयौं कोष टाढा पुगेको तथ्यहरु आँखामा झल्झली आइरहेछ । लामो समय एमालेको नेतृत्व गर्नुभएका माधव नेपालदेखि बामदेव गौतमसम्मको सोच, ब्यवहार र कार्यशैली हेर्दा मदनको अनुयायी यस्तै हुन्छन त भन्ने प्रश्न उठनु स्वभाविक बनेको छ । माधव नेपाल ‘जवज’को पक्षमा खुल्दै नखुली बसेको र अनेरास्वबियूले पिके क्याम्पसमा कार्यक्रम आयोजना गरेर अन्तिम समयमा ‘जवज’को पक्षमा जवर्जस्त खुलाएको तथ्य एमाले महासचिव शंकर पोखरेलले धेरै पहिला हामीलाई बताउनु भएको थियो । बामदेव गौतमले त उपमहासचिव भएकै बेला ‘म जेबोल्छु, त्यही हो जनताको बहुदलीय जनवाद’ भन्ने सुत्र बनाएर केही समयपछि नै शहीदको कोटामा आएको छात्रबृद्धिमा आफ्नो छोरा चीन पठाएर ‘जवज’को हुर्मत नै लिनुभयो ।

झलनाथ  खनाल त ‘जवज’ बिरोधी नै हो तर अध्यक्ष पाइहालिन्छ कि भनेर ‘जवज’ स्वीकार गरेको नाटक गर्नुभएको रहेछ । आफू प्रधानमन्त्री बन्न ‘जवज’को आत्मा नै मार्ने गरी माओवादी अध्यक्ष प्रचण्डसँग हस्ताक्षर गरेको दस्तावेज र लगत्तै बसेको स्थायी कमिटी बैठकले अध्यक्षले गरेको सहमतिलाई खारेज गरिदिएको घटनापछि झलनाथको बिषयमा थप टिप्पणी नै जरुरी छैन । उहाँ ‘जवज’बारे पाँचौं महाधिवेशनमा जे भनिरहनुभएको थियो, त्यही रहेछ । झलनाथले पदमा बसिरहन र नेतृत्व लिनका लागि मात्रै ‘जवज’को माला जप्नुभएको रहेछ भन्ने कुरा पनि त्यो घटनाले प्रमाणित गर्यो ।

हामीलाई तीन–तीन घण्टा भाषण दिने, हरेक कार्यक्रममा ‘जवज’बारे ब्याख्या गर्ने तात्कालिन महासचिव माधव नेपाल पनि कहिल्यै ‘जवज’वादी हुन सक्नुभएको रहेनछ, केवल ‘जवज’को नाममा पार्टी सत्तामा रहिरहनका लागि मात्रै मदन र ‘जवज’का नाम लिने गर्नुभएको रहेछ भन्ने घटनाक्रमले छ्यांगै पारेको छ । अवसर जति मलाई, राम्रो परिणामजति मेरो भागमा, काम जति अरुलाई, नराम्रो परेछ भने अरुमाथि थोपर्ने माधव शैली ‘जवज’को हुँदैहोइन । माधवले ती सवै काम गर्नुभएको छ । माधव–झलनाथ र बामदेवको ब्यवहार, कार्यशैली र चरम अवसरवादी चरित्र हेर्दा लाग्छ–धन्न एमाले जोगिएछ । २०५० सालयताको घटनाक्रम नियाल्दा लाग्छ, केपी ओली, इश्वर पोखरेल, केशव बडाल, अमृत बोहोरा, मुकुन्द न्यौपाने र प्रदीप नेपाल (हालसालै स्वर्गीय) हरुको कारण नै एमाले जोगिएको हो ।

माधव र बामदेवले आफ्नो पद जोगाउन २०५४ सालको बिभाजन गर्नुभएको थियो । लेखक स्वयं त्यो घटनामा साँक्षी छ । जेसुकै नारा दिइए पनि महासचिव हटाउने बामदेवको खेल अनि उपमहासचिव पद नै चैट बनाइदिने माधवको हर्कत अनि प्राप्त भएको बोराका बोरा ‘दाम’ बाहेक २०५४ मा एमाले बिभाजन हुनुपर्ने कुनै कारण थिएन । ‘जवज’का ‘ब्याख्याता’ बनेर महाकाली सन्धीको नारा दिइयो । एमाले स्थायी कमिटीमा बामदेवक आफै प्रस्तावक रहेको महाकाली सन्धी उपमहासचिव पद गुमेपछि राष्ट्रघातमा परिणत भएको तथ्य अहिलेको धेरै एमालेजनलाई थाह नहुन सक्छ । तर एमाले स्थायी समितिको त्यो माइन्यूट हेरियो भने प्रस्ताव राख्दा नोट अफ डिसेन्ट लेख्ने को–को थिए ? भन्ने तथ्य छर्लंग हुन्छ ।

मदनले ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ’ भन्ने मान्यता अघि सारेर सिद्धान्त र ब्यवहारबीचको तालमेलमा जोड दिनुभयो । माधव–बामदेव र झलनाथहरुले ठीक उल्टो काम गर्नुभयो । मदनले ‘आग्रह, पूृर्वाग्रह कुण्ठा र प्रतिशोध प्रजातान्त्रिक गुण होइन’ भन्नुभयो, यी नेताले त्यही पालेर बसिरहेको तथ्यले पुष्टि गर्यो । मदनले ‘आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन, कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवशर पनि प्रदान गर्छ’ भन्ने तथ्य स्थापित गर्नुभयो अनि ‘अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरंकुशता हुन्छ’ भन्ने सच्चाइ अघि सार्नुभयो । मदनका अनुयायी हुँ भन्ने यी नेताहरुले ठीक उल्टो काम गर्नुभयो । ‘मैले केही पाउँदिन भने त्यो पार्टीमा म किन बसिरहने ? भन्दै बामदेवले साहना प्रधानलाई उचालेर २०५४ र माधव–झलनाथले ‘केपीले समाप्त पार्न लाग्यो, बचाइदिनोस’ भन्दै इमोशनल ब्ल्याकमेलिङ गरेर २०७८ मा पार्टी बिभाजन गरी आफ्नो पद र प्रतिष्ठाका लागि मात्रै ‘जवज’ मानिदिएका हौं, मदनका अनुयायी भनिदिएका हौं, हामी मदनका अनुयायी र ‘जवज’वादी हुँदै होइनौं भन्ने प्रमाणित गर्नुभयो । आफ्नो लागि मात्रै सोच्ने अध्याय ‘जवज’को ९ खण्ड र मदनको जीवनसँग कँहीकतै भेटिन्न, मेल पनि खाँदैन । तर पनि यी नेताहरु जवजकै माला जपिरहनुभएको छ ।

जननेता मदन भण्डारीको सपना साकार पार्न राजनेता केपी ओलीको नेतृत्वमा लागि परेको नेकपा एमालेकै नेता–कार्यकर्ता पङ्ती पनि अझै त्यसअनुसार पुर्णरुपमा तयार हुन सकिरहेको छैन कि भन्ने देखिएको छ । ‘गलतलाई गलत नै हो भन्नुपर्छ, तपाई रिसाएपनि म मेरो कुरा भन्छु’ भन्दै सत्यको पक्षमा अबिचलित योद्धा जननेता मदन भण्डारीका अनुयायीहरू आफ्नै कमाण्डरमाथि गोलावारी हुँदा पनि प्रतिरक्षा गर्न तयार हुन्नन भने तिनलाई कसरी ‘जवज’वादी र मदनका अनुयायी भन्ने ? अहिले एमाले पङ्ती मदनको मान्यता र ‘जवज’को सार बुझ्न नसक्दा बिरोधीको आक्रमणको तारो बनिरहेको छ । अध्यक्ष केपी शर्मा ओली सवैभन्दा बढी निसानामा पर्नुभएको छ । तर कमाण्डरलाई ढाल्न खोज्ने बिरोधीको मिशन थाह पाएर पनि ओलीकै सारथी अर्थात पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि पार्टीका प्रदेश, जिल्ला कमिटीमा रहेका अनि जनसंगठनको अध्यक्षदेखि पदाधिकारीसम्म र सदस्यहरु प्रतिरक्षा गर्न अघि नबढेको मात्रै होइन, चाहिरहेकै छैन ।

एमाले नेताहरुको यो शैली र ब्यवहार हेर्दा ‘जननता मदन भणडी, जवज र अध्यक्ष केपी ओलीलाई एमालेकै नेताहरुबाट जोगाऔं’ भन्नुपर्ने दुःख आइलागेको छ ।  सामुन्नेमा पर्नसाथ फोटो खिरेर सोसल मिडिया, डिजिटल प्लेटफर्ममा पोस्ट्याउने तर त्यही नेतामाथि लगातार आक्रमण हुँदा प्रतिरक्षा नगर्ने शैली ‘जवज’ र मदनको अनुयायीबाट होला भन्ने कल्पना पनि गर्न सकिदैन । नेतृत्व पनि एउटै ब्यक्तिलाई निरन्तर अवसर दिएर जवजको मान्यतामा चुक्न थालेको छ । आजको दिन यी कमीकमजोरी सच्चाएर एमालेका नेतृत्वदेखि कार्यकर्ता पङ्तीसम्मले संकल्प गर्नुपर्छ । मदन र ‘जवज’का अनुयायीहरू अध्यक्ष केपी शर्मा ओलीमाथि नै आक्रमण हुँदा पनि चुपचाप लागेर ‘कमाण्डर ढले–ढलोस, म किन प्रतिवाद गर्ने ?’ भन्दै बस्ने होइन, शिष्ट र मर्यादित रुपमा तथ्य राखेर दृढ मनोबलका साथ बिजयी बन्ने गरी लडाईंमा होमिन जरुरी छ । यत्ति काम गर्न सकियो भने मदनको परिकल्पना अनि जवजको सार समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिनेछ । जवजले परिकल्पना गरेको समाजवादको आधार पनि तयार हुनेछ । एमालेजनले आफूमा रहेको कमीकमजोरी सच्याएर रुपान्तरित एमाले बन्ने दृढ संकल्प मदन भण्डारी र कुसल संगठन जीवराज आश्रितको स्मृति दिवसकै दिन आज गर्नुपर्छ । यत्ति गर्न सके मदनको समृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय आकांक्षामा सफलता प्राप्त भई मदनको सपना साकार हुनेछ ।