जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार १७:३९

सञ्चार प्रविधिको दुरुपयोग गरेर राजनीतिलाई गलत दिशामा लैजाने प्रयास : शंकर पोखरेल 


काठमाडौं, ३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिलाई गलत दिशामा लैजाने प्रयास भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय शिक्षा विभागद्वारा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै पोखरेलले सञ्चार प्रविधिको दुरुपयोग गर्दै राजनीतिलाई गलत दिशामा लैजाने प्रयास भइरहेको बताउनुभयो । राजनीतिका सही मार्गलाई स्थपति गर्ने कुरामा संगठित रूपमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘एक्लो वृहस्पति झुटो हुन्छ’, उहाँले भन्नुभयो ।

समय क्रममा वृहस्पतिले अघि सार्नु भएका मान्यता सही प्रमाणित भए जस्तै नेकपा एमालेले अघि सारेका विचार पनि सही प्रमाणित हुने पोखरेलले बताउनुभयो । भाइरल बन्नका लागि गरिएका प्रचार धेरै समय नटिक्ने उहाँले प्रष्ट पार्नुभयो । भिडका पछाडि लाग्नेहरू बिस्तारै सेलाएर जाने पोखरेलले दाबी गर्नुभयो ।

आजको नयाँ पुस्ताले ठिक र बेठिक छुट्याउन सक्नु पर्ने बताउनुभयो । राजावादी र मण्डलेहरू अहिले लोकतन्त्रले के दियो ? भन्ने प्रचारमा लागेका बताउँदै उहाँले नेपाली समाज राजाकै कारण पछाडि परेको हो भन्ने कुरा बुझ्न आवश्यक रहेको बताउनुभयो ।

नेपालका पुराना राजनीतिक दलले स्वतन्त्रताको लागि र लोकतन्त्रको लागि लडाइँ नलडेका भए अहिले पनि मुलुक अँध्यारोमा नै हुने उहाँले बताउनुभयो । सशस्त्र आन्दोलनको नाममा १० सम्म राजा र माओवादी मिलेर कांग्रेस र एमालेका नेता कार्यकर्तालाई कुट्ने र काट्ने काम गरेका पोखरेलले आरोप लगाउनुभयो ।

नेपालमा नेपाली राजनीतिक दलले काम नै गर्न नपाएको उहाँले बताउनुभयो । नयाँ संविधान बनेपछि बल्ल नेपालका राजनीतिक दलले काम गर्न पाएका उहाँले सुनाउनुभयो । समग्र राजाको शासनकालमा र लोकतन्त्र आएपछि भएका काम तुलना गरेर हेर्न उहाँले आग्रह गर्नुभयो ।

पोखरेलले नेकपा एमाले नेपालका राजनीतिक दल मध्ये पनि सबैभन्दा अग्रणी दल भएको बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा लोकतान्त्रिक संविधान बनेको, देश लोडसेडिङमुक्त भएको, कहिल्यै पनि नाकाबन्दी नलाग्ने वातावरण बनेको, नेपालको आफ्नो सबै भूमि समेटिएको नक्सा सार्वजनिक भएको पोखरेलले उदाहरण दिनुभयो ।

नेपाली भूमि प्राप्त गर्न समय लाग्ने भए पनि दस्ताबेजमा आफ्नो देशको भूमि देशका नक्सामा आएको पोखरेलले सुनाउनुभयो । ‘यो मुलुकमा व्यवस्थित सोचका साथ काम गर्ने कुनै पार्टी छ भने त्यो नेकपा एमाले हो, जनताका मुर्झाएको समपना नगाउने कुनै पार्टी छ भने त्यो नेकपा एमाले हो’, उहाँले भन्नुभयो ।

पोखरेलले देशलाई सुरुङ मार्गमा प्रवेश गराउने काम पनि नेकपा एमालेले नै गरेको उहाँले दाबी गर्नुभयो । नदीको पानी डाइभर्ट गरेर तराइका फाँटमा पुर्‍याउने योजना समेत नेकपा एमालेले अघि बढाएको पोखरेलले बताउनुभयो ।

एमालेले रेलका कुरा गर्दा खिसी गर्नेहरू अहिले रेल चढेर यात्रा गर्न लागेका उहाँले बताउनुभयो । एमालेले पूर्व–पश्चिम रेलको अवधारणा ल्याएका भन्दै त्यसका लागि केही समय लाग्ने भए पनि काम अघि बढेको पोखरेलले बताउनुभयो ।

पोखरेलले जोसँग नवीन सोच छ त्यही अघि बढ्न सक्ने बताउनुभयो । नयाँ सोच, मान्यता बोकेर सूचना र प्रविधिको प्रयोग गर्दै अघि बढ्ने हो भने नेपाली युवाले धेरै कुरा देशमा नै गर्न सक्नेमा उहाँले जोड दिनुभयो ।

पोखरेलले मदन भण्डारी भविष्य द्रष्टा नेता भएको पनि बताउनुभयो । मदन भण्डारीले देखाएको बाटोमा देश अघि बढेको भए धेरै अगाडि पुगिसक्ने उहाँको धारणा छ । ‘यदि मदन भण्डारी युरोमा जन्मनुभएको भए उहाँको विचार विश्वव्यापी हुन्थ्यो’, पोखरेलले भन्नुभयो ।

पोखरेलले देशलाई सही दिशामा लैजान एमालेको नीति राष्ट्रको नीति बन्नु पर्नेमा जोड दिनुभयो । त्यसका लागि एमाले एकल बहुमत सहित सरकारमा जानु पर्ने उहाँको धारणा छ ।