काठमाडौं, जेठ ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको बहुदलीय जनवादको मार्गमा अघि बढेको स्पष्ट पार्नुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको कानुन विभागद्वारा शनिबार आयोजित ३२ औँ मदन–आश्रित स्मृति दिवसको भर्चुअल छलफललाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद प्रति असहमति राख्ने नेताहरू जनताको बहुदलीय जनवादको पक्षमा एका बताउनुभयो ।
२०६२/०६३ को परिवर्तन पछि जनताको बहुदलीय जनवादको उपेक्षा गर्ने काम भएको बताउँदै उहाँले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अहिले पनि त्यतिकै रहेको बताउनुभयो । ‘जनताको बहुदलीय जनवादको सान्दर्भिकता सकिएको छैन, जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्तको रूपमा स्थापित छ’, उहाँले भन्नुभयो ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नाराका साथ नेकपा एमाले अहिले अघि बढेको उहाँले बताउनुभयो । २०६२÷०६३ को आन्दोलनले समेत जनताको बहुदलीय जनवादको मान्यतालाई स्थापित गरेको उहाँको दाबी छ । सो आन्दोलनमा कतिपयले माओवादीलाई श्रेय दिने गरेका भए पनि जनताको बहुदलीय जनवादकै जगमा सो आन्दोलन सफल भएको पोखरेलको धारणा छ ।
उहाँले अर्थतन्त्रको विकास नगरेसम्म समाजवाद निर्माण गर्न नसकिने बताउनुभयो । त्यसैले समाजवादमा जानको लागि आधार निर्माण गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । पार्टीका सामु दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको उहाँले बताउनुभयो । जहिलेसम्म त्यस माथि विजय प्राप्त गर्न सकिँदैन तबसम्म सफलता प्राप्त नहुने उहाँले स्पष्ट पार्नुभयो ।
विगतमा योगदान गरेका आधारमा कोही पनि क्रान्तिकारी हुन नसक्ने उहाँले बताउनुभयो । त्यसैले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्यका लागि निरन्तर काममा जोडिनु पर्ने उहाँको धारणा छ । क्रान्तिकारी हुनुको लग सिद्धान्तलाई व्यवहारमा जोड्नु पर्नेमा उहाँले जोड दिनुभयो । विधि, पद्धति र अनुशासनमा नचल्दा सांगठनिक अराजकता देखिने उहाँले बताउनुभयो । त्यसैले पार्टी विधि, पद्धति अनुशासनमा चल्नु पर्नेमा उहाँको जोड छ ।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रीय कमिटी कानून विभाग प्रमुख हेमराज जोशीको अध्यक्षतामा भर्चुअल माध्यमद्वारा भएको कार्यक्रमको सञ्चालन विभागका सचिव युवराज अधिकारी र स्वागत सदस्य डा. हेमांग शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी एमाले महासचिव पोखरेलसहित विशेष अतिथिहरू पोलिटब्यूरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्य एवं यूरोप, अमेरिकाज इञ्चार्ज घनश्याम पाण्डे, केन्द्रीय कमिटी सदस्य एवं पूर्वी एसिया तथा ओशिनिया इञ्चार्ज डा. सूर्य पाठक, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष संजय थापा, उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पालगायतका बक्ताहरुले आफ्नो धारणासहित जननेता मदन भण्डारी र कुसल संगठक जीवराज आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका सचिवालय सदस्य, अन्तराष्ट्रिय कमिटी सदस्य, महादेश कमिटी र राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्