काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले मदन भण्डारी भन्नासाथ सादा जीवन, उच्च विचार र जनतासँग जोडिएको राजनीतिक नेताको स्मरण हुने बताउनुभएको छ ।
प्रवासी नेपाली मञ्च कानुन विभागद्वारा आयोजित ३२ औँ मदन–आश्रित स्मृति दिवसको भर्चुअल कार्यक्रममा बोल्दै थापाले मदन–आश्रितले देखाउनुभएको बाटोमा अघि बढ्दा मात्र उहाँहरू प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको बाटोमा हिँडेर नै आज नेकपा एमाले देशको सबैभन्दा ठुलो पार्टी र पटक पटक सरकारमा पुग्ने पार्टी बनेको उहाँको भनाइ छ । ‘सरकार हैसियतले देशमा भएका विकास र नीति निर्माणमा जनताको बहुदलीय जनवादले महत्त्वपूर्ण भूमिका खेलको छ’, उहाँले भन्नुभयो ।
मदन–आश्रितको रहश्यमय हत्या भएको ३० वर्ष बित्दा पनि हत्याको यथार्थ पत्ता नलाग्नु भने दुःखको कुरा भएको उहाँले बताउनुभयो । कतिपय घटन निक्कै रहस्यमय हुने बताउँदै उहाँले मदन–आश्रितको घटना पनि त्यस्तै भएको धारणा राख्नु भयो । तथापि पार्टी सरकारमा गएको बखत घटना पत्ता लगाउने कुरामा ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो ।
आफूहरूले प्रवासमा बसेरै भए पनि देश र पार्टीलाई रेमिटेन्स र विचारको माध्यमबाट योगदान गर्दै आएको थापाले बताउनुभयो । ‘हामीले आर्जन गरेको ज्ञान सिपको माध्यमबाट देशलाई सेवा गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
देशमा यति बेला प्रतिगामीहरूले टाउको उठाउन लागेका बताउँदै उहाँले यस्तो बेला सबैले सचेततापूर्वक काम गर्नुपर्नेमा थापाले जोड दिनुभयो । ‘जनताको बहुदलीय जनवादको महत्त्व आज अझ बढेको छ, देशमा प्रतिगामीहरू सलबलाउन खोजिरहेका छन्, यो बेलामा हामीले जनतालाई तलसम्म जनताको बहुदलीय जनवादलाई बुझाउनु परेको छ’, उहाँले भन्नुभयो ।
नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै जनताको बहुदलीय जनवादको बाटोबाट नै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । जनताको बहुदलीय जनवादले नै विकाससँगै सामाजिक न्यायको सन्तुलन मिलाउने उहाँका धारणा छ । लोकतन्त्र र समाजवादको सन्तुलन गुम्दै गएको बेला जनताको बहुदलीय जनवादले नै यसलाई सन्तुलनमा ल्याउन सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न बक्ताहरुले नेपालकाे कम्युनिष्ट आन्दाेलनमा मदन–आश्रितकाे याेगदानकाे चर्चा गर्नु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्