जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १२:५९

निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन : सूर्य थापा  


काठमाडौं, ६ जेठ । प्रतिनिधि सभा सदस्य सूर्य थापाले जनप्रतिनिधिलाई जनताका आवश्यकताका योजना छनोटको अधिकार भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले निर्वाचन क्षेत्रको विकासका प्रक्रियामा निर्वाचित सांसदलाई जोड्न आवश्यक रहेको बताउनुभयो । ‘सांसदको भूमिकालाई अन्योन्याश्रित, अटुट र प्रभावकारी रूपमा जोड्न आवश्यक छ’, उहाँले भन्नुभयो ।

समाजमा एकथरि मानिसहरू सांसदलाई यो कामबाट अलग गराउनु पर्ने वाह्यात छलफलमा लागेका थापाले बताउनुभयो । उनीहरूले अनावश्यक बुद्धिविलास गरी नकारात्मक भाष्य निर्माणको प्रयास गरेका थापाको भनाइ छ । ‘वास्तवमा १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आआफ्नो क्षेत्रको विकासको सक्रिय योगदान दिन पार्टीको स्पष्ट घोषणापत्र र प्रतिबद्धता पत्र सहित मतदाताको विश्वास जितेर निर्वाचित भएर आएको बस्तुगत यथार्थतालाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्छ’, थापाले भन्नुभयो ।

सांसदहरूलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसका विरुद्ध किन बकवास गरिन्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘बजेट सुन्ने, छलफल गर्ने र पास गर्ने हामी सांसदहरूको संवैधानिक र कानुनी अधिकार नै हो, निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहनामा पनि उचित र सही हुन सक्दैन, यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरू, अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र मतदाताहरू थप असन्तुष्ट र निराश बन्ने अवस्था आउँछ’, उहाँले भन्नुभयो ।