जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १९:०९

मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर बन्दै 


रामेछाप,६ जेठ। मन्थली नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बन्ने तयारीमा जुटेको छ ।

नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बन्ने अन्तिम तयारीमा जुटेको नगर प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख श्रेष्ठ तोकिएका ५१ वटा सूचक नगरपालिकाले करिब पुरा गरेको बताउनुभयो ।

उहाँले यही जेठ महिनाभित्रै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको तयारी भइरहेको बताउनुभयो । जिल्ला समन्वय समितिलाई अनुगमनको लागि अनुरोध गरिएको बताउँदै त्यहाँको प्रतिवेदन आएपछि वडाहरूलाई घोषणा गरी अन्तिममा बालमैत्री नगर घोषणा गरिने उहाँले जानकारी दिनुभयो ।

नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकीले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि हालसम्म भएका काम बारे जानकारी दिनुभएको थियो । उहाँले नगरभित्रका १४ वटै वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि ५१ वटा सूचकमा केन्द्रित भएर काम गरेका जानकारी दिनुभयो

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वडाहरूले बालमैत्री स्थानीय शासनयुक्त वडा हुन आवश्यक सूचक पुरा गरे पनि त्यसलाई निरन्तरता दिने र दिगोपनका बारेमा सोच्नु सुझाव दिनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सहभागीलाई स्वागत गर्दै नगरपालिकालाई बालमैत्री बनाउन सबैको समान भूमिका हुने बताउनुभयो । उहाँले यस काममा सहयोग गर्न पत्रकारहरूलाई अनुरोध गर्नुभयो ।