जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार ०९:२८

दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको शव


सखुवासभा, ९ जेठ । सखुवासभाको भोटखोला गाउँपालिका–४ का ६ वर्षीया बालिकाको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले बालिकाको शव नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको छ र घटना सम्बन्धी अनुसन्धान गरिरहेको जनाएको छ।

अनुसन्धानका लागि बालिकाका बुवा र काकीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।९ जेठ, खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया एक बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव विहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको हो ।

गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडाको क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।
उनको शव दाहसंस्कारको लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा विहीबार प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि युनिकाका बुवा गोपाल र भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अनुसन्धानका लागि आज अदालतमा उपस्थित गराएर म्याद लिने तयारी छ ।