जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार १७:३५

एमालेलाई गाली नगरी माओवादी र रास्वपाको पसल चल्दैन : प्रदीप ज्ञवाली


काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरूद्ध संगठितरूपमा विपक्षी लागि परेको दाबी गरेका छन्। शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशको कार्यशालालाई सम्बोधन गर्दै उनले एमालेविरूद्ध पछिल्लो समय राजावादी, माओवादी, रास्वपालगायतका दलहरू संगठितरूपमा लागि परेको बताए।

`अहिले एमाले र एमालेको नेतृत्वविरूद्ध गाली नगरी हाम्रो पसल चल्दैन भन्नेमा पछिल्लो समय सबैभन्दा बढी राजावादी, माओवादी, रास्वपा लगायतका दललाई लागेको छ,´ उपमहासचिव ज्ञवालीले भने, `एमाले गणतन्त्रवादी दल भएकाले राजावादी विरूद्धमा छन्, ३२ सिटको जादु नचलेपछि माओवादी सरकार,  एमाले र नेतृत्वविरूद्ध छ, रास्वपाले पुराना दललाई गाली नगरी अगाडि बढ्न सकिँदैन भन्नेमा प्रष्ट छ। तसर्थ सबैको केन्द्रविन्दुमा एमाले भएकाले योजनाबद्ध रूपमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने आवश्यकता छ।´

ज्ञवालीले निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदापनि सम्पूर्ण घेराबन्दी तोडेर एमाले सरकारमा पुन: पुग्न सफल भएको दाबी गरे। उनले एमालेको प्रभावकारी प्रचार, जनप्रतिनिधिको काम गराइ, पार्टी र जनसंगठनले गर्ने कामको आधारमा जनमत बढ्ने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए। उनले देश विकास गर्ने र राष्ट्रवादी शक्ति एमाले भएको उल्लेख गरे।