जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार २२:२७

राजनीति बिग्रियो भने सबैभन्दा बढी असर युवालाई पर्छ : महेश बस्नेत


भक्तपुर, २४ जेठ । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले स्पष्ट ,नीति, कार्यक्रम र दृष्टिकोण भएको पार्टी एमाले नै भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल सूर्य विनायक नगरपालिका–५ को अधिवेशनलाई शनिबार सम्बोधन गर्दै बस्नेतले नयाँ पुस्ताका युवालाई यो कुरा स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो । राजनीति बिग्रियो भने त्यसको सबैभन्दा बढी प्रभाव युवालाई पर्ने भएकोले युवा पङ्ती यसमा स्पष्ट हुनुपर्ने उहाँले बताउनुभयो । ‘राजनीति बिग्रियो भने युवालाई स्वाभाविक रूपमा असर पर्छ, त्यस कारण राजनीति सुधार्नुपर्छ, आवश्यकता अनुसार राजनीतिलाई दबाब र प्रभावमा राख्नुपर्छ, जसको लागि भिजन भएको नेतृत्व र राजनीति बुझेको जनता आवश्यक पर्दछ’, उहाँले भन्नुभयो ।

सामाजिक न्याय र क्षेत्रमा संसारले सिक्ने काम एमालेको नेतृत्वमा भएको बताउँदै बस्नेतले एमाले नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता बढाएर ४ हजार रुपैँया पुर्‍याएको ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउनुभयो ।

कांग्रेस र नेमकिपाले जित्दा सिंहदरबारबाट भक्तपुरबाट धेरै टाढाको जस्तो भएको बताउँदै उहाँले आफूले जीतेपछि भक्तपुरको विकासमा कायापलट भएको बताउनुभयो ।
एमाले नेतृत्वको सरकारले युवालाई रोजगारीमा जोड्ने अभियान सुरु गरेको उल्लेख गर्दै बस्नेतले केपी ओली नेतृत्वको सरकारले युवालाई स्टार्टअप प्रोग्राम, आइडिया स्टुडियो लगायतका कार्यक्रम ल्याएको जानकारी दिनुभयो । ‘एमालेले युवालाई राष्ट्रिय पुँजी र रोजगारीमा जोड्ने कार्यक्रमहरू ल्याइरहेको छ, अब बाध्यताले विदेश जाने युवाहरूलाई देशमा नै रोक्न सकिन्छ तर रहरले विदेश जाने युवालाई रोक्न सकिँदैन’ उहाँले भन्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा, वडाध्यक्ष राजकुमार जोशी, संघका केन्द्रीय सदस्य रविन थाप, सुमित कार्कीलगायतका उपस्थिति रहेको थियो ।