काठमाडौं, २५ जेठ । आगलागीमा परी घर जलेर बिचल्लीमा पर्नुभएका काभ्रेको रोसी गाउँपालिका–१ भदौरेका रामबहादुर मैनालीले कतैबाट सहयोग नपाउँदा थप समस्यामा पर्नुभएको छ ।
गत जेठ ५ गते राति भएको आगलागीमा परी मैनालीको घर र घर भित्र रहेको सबै नगद, धनमाल, अन्नपात जलेर नष्ट भएको छ । ‘मध्यरातमा आयो लाग्यो, धन्न बस्तुभाउको उद्धार गर्न भ्याइयो, अरू सबै जलेर गयो’, रामबहादुरले भन्नुभयो ।
मैनाली दम्पती बस्दै आएको सो घरमा विद्युत् लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परी नगद ४ लाख रुपैयाँ, १० तोला सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको मैनालीले बताउनुभयो ।
२० दिन अघि घर जलेर घरबार विहीन हुँदा पनि मैनालीले कतैबाट सहयोग पाउनु भएको छैन । मैनाली दम्पतीले २० दिनदेखि टहरोमा रात–दिन काट्दै आउनुभएको छ । ‘वडाबाट आउनु भएको थियो, सहयोग जुटाउँला भनेर जानु भएको थियो, तर कतैबाट केही सहयोग पाएको छैन’, उहाँले भन्नुभयो ।
मैनालीका छोरा, छोरीहरू काठमाडौं तिरै छन् । घरमा दुई बुढा–बुढी मात्रै हुनुहुन्छ । अहिले उहाँहरू छिमेकीले गरेको सहयोगबाट दिन काट्दै हुनुहुन्छ । ‘छोरा–छोरी बाहिर छन्, आउने जाने गरिरहेका छन्, यहाँ बसेर पनि उनीहरूको व्यवहार चल्दैन, सहयोग गर्ने आश्वासन दिने धेरै छन्, तर कतैबाट सहयोग पाएको छैन, साह्रै समस्या परेको छ’, उहाँले भन्नुभयो ।
पीडितकोमा पुग्नु भएका नेकपा एमाले विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग सदस्य राज मैनाली उहाँहरू निक्कै अप्ठेरो अवस्थामा रहेको जानकारी दिनुभयो । ‘घर भित्रको सामान केही निकाल्न पाउनु भएनछ, उहाँहरूसँग केही छैन, कतैबाट सहयोग पाउनुभएको रहेनछ, व्यक्तिगत रूपमा के नै गर्न सकिन्छ र मैल ५ हजार रुपैयाँ छाडिदिएर आएँ, पार्टीको विपद् व्यवस्थापन विभाग वाग्मती प्रदेशबाट केही गर्न सकिन्छ कि भनेर छलफल गर्दै छौँ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्