काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
गत बैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि काम पुरा नभएपछि कामको प्रगति बुझ्न प्रधानमन्त्री आफैँ निर्माणाधीन खेल मैदानमा पुग्नु भएको हो । प्रधानमन्त्री ओलीले सो खेल मैदानको निर्माणकार्यलाई आफ्नो कार्यकालको अति महत्वको योजनाको रूपमा राख्नु भएको छ ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३ सय दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आउनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत संलग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्य प्रगति बारे छलफल गरी आगामी २ महिनाभित्र काम सक्न निर्देशन दिनुभएको थियो । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।





प्रतिक्रिया दिनुहोस्