काठमाडौं, २६ जेठ । चितवनको राप्ती नगरपालिकाले एकैपटक ठुलो सङ्ख्यामा कर्मचारी हटाउने निर्णय गरेको छ ।
सो नगरपालिकाले एकै पटक करार सेवाका ७४ जना कर्मचारी हटाएको हो । नगरपालिकाले आन्तरिक स्रोतको अभावको कारण देखाउँदै नगरपालिकाले ती कर्मचारी हटाउन लागेको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
नगरपालिकाले हटाएका कर्मचारीहरूमा सबैभन्दा बढी चिकित्सक लगायतका स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने वडा कार्यालयका कर्मचारीहरू पनि अवकाश पाउनेमा परेका छन् ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै आजदेखि लागू हुने गरी ज्यालादारी कर्मचारीलाई कार्यालयमा हाजिर नहुन जानकारी दिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा तोकिएको लक्ष्य बमोजिम आन्तरिक स्रोतको सुनिश्चितता नभएको र ज्यालादारी कर्मचारी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाले समेत चासो दिएकोले उनीहरूलाई कामबाट हटाइएको कार्यालयले जनाएको छ ।
नगरपालिकाको १४ औँ नगर सभाबाट गठन भएको सहजीकरण समितिको निर्णयअनुसार सो कार्यालय मातहतका वडा कार्यालय, शाखा, उपशाखा, भण्डारा अस्पताल, स्वास्थ्य संस्था, कृषि तथा पशु सेवा केन्द्र र अन्य स्थानमा कार्यरत सम्पूर्ण दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई कामकाज नगराउने निर्णय भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्