गोदावरी (कैलाली), २६ जेठ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद एवं ‘फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा उहाँले आमनागरिकलाई सु–सूचित गर्ने काममा पत्रकारको भूमिका महत्वपूर्ण भएकाले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
पछिल्लो पटक पत्रकारिता पेसामा विभिन्न चुनौती देखापरेको उल्लेख गर्दै उहाँले पत्रकार स्वयंले आफ्नो सुरक्षाको लागि विशेष ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले प्रदेशस्तरमा गठन भएको फ्रि मिडिया नेटवर्कले आमनागरिकको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितता प्रदान गर्न मद्दत मिल्ने बताउनुभयो । उहाँले नेटवर्कमा नागरिक समाजका अगुवा, सरकारी निकायका प्रतिनिधि लगायतको सहभागिता रहने भएकाले पत्रकारलाई सुरक्षासँगै सूचनाको पहुँच बढाउन सहयोग पुग्ने भनाइ व्यक्त गर्नुभयो ।
आमनागरिक समाजको पत्रकारिताप्रति रहँदै आएको विश्वासलाई जोगाउन पत्रकारले विशेष ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो । अध्यक्ष शर्माले देशभरका सामसञ्चार माध्ययमले विभिन्न सङ्कट झेल्दै आएको उल्लेख गर्दै सञ्चारमाध्यमले झेल्दै आएको आर्थिक सङ्कटका कारण पत्रकार पलायन हुने अवस्था रहेको स्मरण गर्नुभयो । यसैबीच आजै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा १७ सदस्यीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । उक्त नेटवर्कमा नागरिक समाज, सरकारी निकाय र पत्रकार सम्बद्ध विभिन्न संगठनका प्रतिनिधिहरु छन् ।
प्रतिक्रिया दिनुहोस्