काठमाडौं, २ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले ल्याएको बजेट तथा कार्यक्रमले बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउने काम गरेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले बजेटमा धेरै नयाँ कुरा नभए पनि बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिएको बताउनुभयो । ‘बिग्रिएको अर्थतन्त्रलाई ठिक ट्र्याकमा ल्याएर बजेट प्रस्तुत गर्ने काम भएको छ’, उहाँले भन्नुभयो ।
कतिपय सरकारले भ्यागुताको उफ्राई जस्तो बजेट ल्याए पनि उपलब्धि भने सर्पको घस्राइ जस्तो पनि हुन नसकेको उहाँले बताउनुभयो । गाउँ गाउँमा सहकारी घर घरमा सहकारी भनेर ल्याएका बजेटले न भाकारी बाँध्न सकेको न सहकारी बनाउन सकेको उहाँले सुनाउनुभयो ।
बजेटलाई जसको हातमा डाडु पन्युँ छ त्यसैको भागमा हाल्ने कुरा नगर्न आग्रह गर्नुभयो । त्यस्तो काहीँ कतै भएको छ भने बजेट पास गर्ने बेलासम्म सुधार गर्न उहाँले अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय महत्वका ठुला आयोजनालाई यथेष्ट बजेट विनियोजन गरी छिटो सञ्चालनको व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न अरू प्रभावकारी योजना ल्याउन उहाँले अनुरोध गर्नुभयो । ज्येष्ठ नागरिकको उपचार पूर्ण रूपमा सरकारले नै गर्ने कार्यक्रम बनाउन पनि उहाँले सुझाव दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्