रामेछाप, ११ असार । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिकाले आउने आर्थिक वर्ष २०८२/०८३ को लागि नीति, कार्यक्रम र बजेट ल्याएको छ ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याएको हो । गाउँपालिकाले ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
मंगलबार सम्पन्न सभामा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सावित्री सुनुवारले बजेट पेस गर्नुभयो। दुवै प्रस्तावहरू सर्वसम्मत पारित भएका छन्।
पाँचवटा प्राथमिकता : शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सामाजिक न्याय
अध्यक्ष सुनुवारले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पाँच प्रमुख प्राथमिकता क्षेत्र निर्धारण गरिएको छ। ती क्षेत्रहरूमा केन्द्रित ११८ बुँदे कार्यसूचीमार्फत गाउँपालिकाले सेवा प्रवाह सुधार गर्ने, दिगो विकास सुनिश्चित गर्ने र सामाजिक समावेशिता बलियो बनाउने योजना ल्याएको छ। उहाँले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्र बलियो नबनाई विकास सम्भव हुँदैन,यो बजेट कार्यान्वयनमुखी बनाउने हाम्रो प्रयास छ।’
गाउँपालिकाको नीति अनुसार प्राथमिक तथा माध्यमिक विद्यालयहरूमा गुणस्तर सुधारका कार्यक्रम, स्थानीय स्वास्थ्य संस्थाहरूको सेवा स्तरोन्नति, मातृशिशु स्वास्थ्य सेवा विस्तार, सडक सञ्जाल सुधार, ग्रामीण पर्यटन प्रवर्द्धन र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिइने छ।
वडागत विनियोजन
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले प्रस्तुत गर्नुभएको बजेटमा ७ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम र रकम विनियोजन गरिएको छ।
जस अनुसार वडा नं १ गुम्देललाई ६१ लाख रुपैँया, वडा नं २ बाम्तीभण्डारलाई ६४ लाख, वडा नं ३ कुबुकास्थलीलाई ५५ लाख ५० हजार र वडा नं ४ प्रीतिलाई ६१ लाख रुपैँया विनियोजन गरिएको छ । त्यस्तै वडा नं ५ प्रीतिलाई ६२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ५० लाख र वडा नं ७ भूजीलाई ६५ लाख ५० हजार रुपैँया बजेट विनियोजन गरिएको छ ।
बजेट विनियोजन गर्दा वडागत आवश्यकता, भौगोलिक अवस्था, पूर्वाधारको अवस्थिति, जनघनत्व, गरिबीको दर र विकास सूचकलाई आधार मानिएको छ। योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन वडागत योजना व्यवस्थापन समिति र गाउँपालिका स्तरको अनुगमन समितिलाई सक्रिय बनाइने भएकाे छ ।
पर्यटकीय सम्भावना परिचालनको प्रयास
उमाकुण्ड गाउँपालिका धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध छ। विशेष गरी ‘उमाकुण्ड’ धार्मिक स्थल तथा आसपासका पदमार्गहरूलाई विकास गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य यो वर्ष बजेटमार्फत राखिएको छ। अध्यक्ष सुनुवारका अनुसार चुचुरे–गुम्देल–उमाकुण्ड पदमार्ग, प्रीतिको गुफा पर्यटन, भूजीस्थित ऐतिहासिक स्थलहरूलाई पर्यटकीय गन्तव्य बनाउने योजना छ।
गाउँपालिकाले होमस्टे प्रवर्द्धन, हस्तकला बिक्री केन्द्र स्थापना र पर्यटक सूचना केन्द्र सञ्चालनजस्ता कार्यक्रमसमेत आगामी वर्षका लागि योजना बनाएको छ।
सामाजिक समावेशिता र लैङ्गिक समानता
गाउँपालिकाले सामाजिक समावेशिता, लैङ्गिक समानता तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि विशेष कार्यक्रम छुट्टाएको छ। महिला सशक्तीकरणका लागि उद्यम सहयोग कार्यक्रम, बालविवाह न्यूनीकरण, घरेलु हिंसा न्यूनीकरणका कार्यक्रमहरूको निरन्तरता रहनेछ।
गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर वृद्धि गर्न आवश्यक जनशक्ति व्यवस्थापन, औषधि खरिद, सुरक्षित मातृत्व सेवा, खोप सेवा, मानसिक स्वास्थ्य परीक्षण, तथा पोषण कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ। बालबालिका, किशोरी र वृद्ध वृद्धाको लक्षित हेरचाह तथा स्वास्थ्य बिमा प्रवर्द्धन कार्यक्रम पनि नीति भित्र समावेश छन्।
प्राथमिकतामा पुर्वाधार
पूर्वाधार विकासका क्षेत्रमा सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी योजना विस्तार, कृषि सिँचाइ, सौर्य ऊर्जा प्रविधिको प्रयोग, भवन निर्माण र यातायात सञ्जाल सुदृढीकरणका लागि छुट्टै योजना बनाइएको छ।
विशेष गरी हिमाली भेगमा सडक पहुँच नभएका बस्तीहरूलाई यातायात सुविधा पुग्ने गरी योजना बनाइएको जनाइएको छ। कृषिमा आत्मनिर्भरता हासिल गर्न कृषि यान्त्रीकरण, मल बीउ वितरण, व्यावसायिक खेती प्रवर्द्धन, पशुपालन, डेरी उद्योग, चिस्यान केन्द्र निर्माण जस्ता कार्यक्रम बजेटमा प्राथमिकताका साथ समावेश गरिएको छ। त्यस्तै, युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न स्वरोजगार कार्यक्रम, सीपमूलक तालिम र कृषि तथा पशुपालन अनुदान कार्यक्रम राखिएको छ।
सेवा प्रवाह डिजिटल प्रणालीमा
गाउँपालिकाले सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत छिटो, सजिलो र पारदर्शी बनाउने उद्देश्यले विद्युतीय अभिलेख व्यवस्थापन, अनलाइन आवेदन प्रणाली, नागरिक बडापत्र र मोबाइल एप निर्माण गर्ने योजना बनाएको छ। नागरिकको गुनासो दर्ता, योजना माग सङ्कलन र सार्वजनिक सुनुवाइ प्रक्रिया पनि अनलाइनमार्फत गर्न सकिने वातावरण बनाइनेछ।
जलवायु परिवर्तन प्रभाव न्यूनीकरण कार्यक्रम
योजना कार्यान्वयनका क्रममा वातावरणीय दृष्टिकोणलाई समेत ख्याल गरिने र जलवायु परिवर्तन प्नभाव न्यूकरण कार्यक्रमअन्तर्गत वन क्षेत्र संरक्षण, हरित पूर्वाधार निर्माण, सौर्य ऊर्जा प्रवर्द्धन, तथा वातावरणीय शिक्षा कार्यक्रम लागू गरिनेछ। ग्रामीण जलवायु जोखिम न्यूनीकरणका लागि नयाँ साझेदारी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
राजस्व र आन्तरिक स्रोत
गाउँपालिकाले आन्तरिक राजस्वबाट २ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ। बाँकी रकम संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, समपूरक अनुदान, साना सहायताजन्य कार्यक्रम, तथा विभिन्न साझेदारी कार्यक्रममार्फत जुटाइनेछ।
‘राजस्व वृद्धि, पारदर्शी सेवा प्रवाह र सामाजिक उत्तरदायित्व हाम्रो मूल मन्त्र हो, सबै वडाका जनप्रतिनिधि र कर्मचारी समन्वयमा रहेर काम गर्न प्रतिबद्ध छौँ’, सुनुवारले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्