जनता टाइम्स

२१ श्रावण २०८२, बुधबार २१:५२

अनुशासनहीनता र ठगी आरोपमा युवासंघका दुई नेता निष्कासित


काठमाडाैं, साउन २१ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि अनुशासनको कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो । यसअघि साउन १० मा पार्टी विरोधी गतिविधि र आर्थिक अनियमितता गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको थियो । तर, स्पष्ट जवाफ नदिएको, नेताहरूलाई गालीगलौज गर्ने र सञ्चारमाध्यमबाट अर्नगल प्रचार नरोकेको भन्दै अन्ततः संगठनले दुवैलाई निष्कासन गरेको जनाएको छ ।

संगठनले उनीहरूलाई कुनै गुट वा नेताप्रतिको पक्षधरता होइन, अनुशासनहीनता, ठगी, अपचलन र संगठनविरोधी गतिविधिका कारण कारबाही गरिएको स्पष्ट पारेको छ ।

सुरज खरेलमाथि पार्टी महाधिवेशनका अध्यक्षमण्डल सदस्यहरूमाथि अभद्र व्यवहार, गालीगलौज, ज्यान मार्ने धम्की दिएको, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार गरेको तथा विधान विपरीत प्रदेश सचिवालय बैठक बोलाई कमिटी पुनर्गठनको प्रयास गरेको आरोप लगाइएको छ ।

रुपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा सुरजलाई पटक–पटक सचेत गराउँदा पनि नटेकेपछि अन्ततः कारबाही गरिएको युवासंघले जनाएको छ ।

त्यस्तै, केन्द्रीय सदस्य युवान्तिका राईमाथि भने सरकारी कोटामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको ठगीसम्बन्धी उजुरी परेको छ । संगठनका अनुसार उनले आफूलाई प्रधानमन्त्रीकी छोरी भनेर विदेश पठाउने प्रलोभनमा ३ लाख ५० हजार रुपैयाँ लिएको प्रमाण उजुरीबाट पुष्टि भएपछि कारबाही गरिएको जनाएकाे छ। उहाँ विरुद्ध नागरिकता प्रकरणसमेत चितवन जिल्ला अदालतमा विचाराधीन रहेको जनाइएको छ ।

युवासंघका प्रवक्ता निरोज पौडेलले कारबाही पूर्णतः विधानअनुसार भएको भन्दै व्यक्तिगत गोपनीयताको सम्मान गर्दै नेतृत्वले पटक पटक चेतावनी दिए पनि त्यसलाई कमजोरी ठानी उल्टै संगठन र पार्टीविरुद्ध षड्यन्त्र गरिएको जनाउनुभएकाे छ । ‘पार्टी र नेतृत्वमाथि लाञ्छना लगाउँदै कपोलकल्पित आरोप फैलाउने कार्य गम्भीर राजनीतिक विचलन हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘संगठनको अनुशासन, हित र गरिमा कायम राख्न बाध्य भएर कारबाही गरिएको हो ।’