काठमाडौं, साउन २२ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासप्रति कडा आपत्ति जनाउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पनि कोण वा बहानामा बहुविवाहलाई वैधानिकता दिने पहल पूर्णतः अस्वीकार्य हुने स्पष्ट पार्नुभएको हो । श्रेष्ठले लेख्नुभएको छ, ‘कुनै पनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन, यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरङ्गित र क्षुब्ध बनाएको छ, सरकारले यस प्रकारको कार्य तत्काल रोकोस् ।’
उहाँले बहुविवाहलाई वैधता दिन खोज्नु सामाजिक न्याय, लैङ्गिक समानता र मानवअधिकारका स्थापित मूल्य विपरीत हुने तर्क गर्नुभएको छ। श्रेष्ठले सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गर्नुभएको छ ।
नेपालको प्रचलित कानुनअनुसार बहुविवाह दण्डनीय अपराध मानिन्छ । यद्यपि पछिल्लो समय सामाजिक बहस र केही सरकारी मस्यौदाहरूको आधारमा बहुविवाहसम्बन्धी कानुनी संशोधनको चर्चा चलिरहेका बेला श्रेष्ठको टिप्पणी सार्वजनिक भएको हो ।













प्रतिक्रिया दिनुहोस्