जनता टाइम्स

९ मंसिर २०७६, सोमबार १९:१४

एनआरएनए टोलीले भेट्यो अर्थमन्त्री खतिवडा र काठमाडौं महानगरका मेयर शाक्य, भयो यस्तो कुराकानी


काठमाडौं, मंसिर ९ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद –एनआरएनए आइसिसि) का अध्यक्ष कुमार पन्तसहितको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरी लगानीको बिषयमा छलफल गरेको छ । अर्थ मन्त्रालयमा आज दिउसो एनआरएनए टोलीले मन्त्री खतिवडासँग नेपालमा गैर आवासीय लगानी भित्र्याउने बिषयमा छलफल गरेको हो ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानीको बातावरण बनेको कारण कुनै दुविधा नगरी लगानी गर्दै समृद्धिको सम्बाहक बन्न सम्पुर्ण गैर आवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले लगानीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने पनि प्रष्ट पार्नुभएको छ ।  भेटमा एनआरएनए अध्यक्ष पन्तले गैर आवासीय नेपाली लगानीको लागि तयार रहेको भन्दै केही नीतिगत ब्यवस्थाको पहल गर्न आग्रह गर्नुभएको थियो । टोलीमा अध्यक्ष पन्तसहित संरक्षक पूर्वअध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गौरीराज जोशी, आरके शर्मालगायत हुनुहुन्थ्यो ।

एनआरएनए अध्यक्ष पन्त नेतृत्वको टोलीले आजै काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यसँग पनि भेटबार्ता गरेको छ । भेटमा काठमाडौं महानगरमा सार्वजनिक सौचालय, सडक, स्ट्रिट लाइब्रेरी र कम्युनिटी हल निर्माणमा सहकार्यबारे छलफल भएको थियो ।