रामेछाप, पुस २६ । नेपाल शेर्पा विद्यार्थी संघ, रामेछाप जिल्लाको दोस्रो जिल्ला अधिवेशन शनिबार रामेछापमा सम्पन्न भएको छ। अधिवेशन उमाकुण्ड गाउँपालिका–२, देउरालीस्थित नेपाल शेर्पा संघ जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको हाे।
अधिवेशनबाट पासनिमा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवनिर्वाचित पदाधिकारीहरूमा दाकर्मा शेर्पा उपाध्यक्ष, फूडोमा शेर्पा सचिव, दागेली शेर्पा सह–सचिव तथा पेमलकु शेर्पा कोषाध्यक्ष चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा पासाङ शेर्पा, लभिस शेर्पा, गेल्जेन शेर्पा, थुप्तेन शेर्पा, आङपासाङ शेर्पा, मिलन शेर्पा र आङनिमा शेर्पा रहनुभएको छ।
अधिवेशनमा नेपाल शेर्पा संघ रामेछाप जिल्ला कार्यसमितिका अध्यक्ष पेमनुरी शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका शिक्षा अधिकृत ङावा शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका संघीय अध्यक्ष फूर्वा छिरिङ शेर्पा, संगठन प्रमुख पेमादोर्जे शेर्पा, उमाकुण्ड गाउँपालिका–२ का वडा सदस्य ङावातेम्बा शेर्पा तथा नेपाल शेर्पा संघ गोकुलगंगा गाउँपालिका अध्यक्ष आङनिमा शेर्पालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
निर्वाचन मण्डलका संयोजक फूर्वाछिरिङ शेर्पाका अनुसार अध्यक्ष पदका लागि दुई जनाको आकांक्षा दर्ता भएको थियो। तर छलफल र सहमतिपछि पासनिमा शेर्पाको नेतृत्वमा सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति गठन गरिएको हो। अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै नेपाल शेर्पा विद्यार्थी संघ रामेछापले दूरदर्शी, सक्षम र ऊर्जाशील नेतृत्वसहित सशक्त तथा प्रभावकारी कार्यसमिति पाएको संगठनले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्