जनता टाइम्स

२० फाल्गुन २०८२, बुधबार २०:१८

रामेछापमा प्रतिनिधि सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, २ सय ३० मतदान केन्द्रमा भोलि बिहान ७ बजेदेखि मतदान हुँदै


रामेछाप, फागुन २० । भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रमा खटिनुभएका कर्मचारीहरूले मतदान स्थलको आवश्यक व्यवस्थापन तथा तयारी सम्पन्न गर्नुभएको छ ।

जिल्लाका ९६ मतदान स्थलअन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रमा मतदानका लागि बुथहरू तयार भइसकेका छन् । यस पटकको निर्वाचनका लागि जम्मा १ हजार ३ सय ७४ कर्मचारी परिचालन गरिएका छन् । तीमध्ये ३७ जना मतदान अधिकृतसहित ४ सय ४९ जना महिला कर्मचारी सहभागी रहनुभएको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुने कार्यक्रम रहेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मतदान स्थलहरूको संवेदनशीलता वर्गीकरण पनि गरिएको छ । जिल्लाका ४१ मतदान स्थललाई अति संवेदनशील, ३५ लाई संवेदनशील र २० मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । ती मतदान स्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना लाई आवश्यकताअनुसार परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ ।

यसैबीच भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापका मतदाताहरूमा उत्साह देखिएको छ । मतदानको अघिल्लो दिनसमेत घर फर्कने मतदाताहरूको उल्लेख्य भीड देखिएको छ । रोजगारी तथा अन्य कामका सिलसिलामा काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका मतदाताहरू मतदान गर्न ठूलो सङ्ख्यामा घर फर्किनुभएको छ ।

   

काठमाडौँबाट बस रिजर्भ गरेर ठूलो सङ्ख्यामा मतदाताहरू गाउँ फर्किनुभएको छ भने आफ्नै सवारी साधनमार्फत घर फर्कनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । गाउँघरमा मतदाताहरूको आगमनसँगै उत्साह र चहलपहल बढेको स्थानीयवासीहरूले बताएका छन् ।

रामेछाप देशका धेरै मतदाता रहेका जिल्लामध्ये एक हो । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन् । तीमध्ये ठूलो सङ्ख्या रोजगारीका कारण काठमाडौँ उपत्यकामा बसोबास गर्दै आउनुभएको छ । निर्वाचनका अवसरमा मतदाताहरू गाउँ फर्किँदा गाउँघरमा उल्लास छाएको छ ।