काठमाडौं, वैशाख २ । नेपाली कांग्रेसले समानान्तर गतिविधि निरन्तर जारी राखेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुनः स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
पार्टी स्रोतका अनुसार कांग्रेसको केन्द्रीय अनुशासन समिति बुधबार बस्ने बैठकमा खड्कालाई स्पष्टीकरण सोध्ने वा थप सचेत गराउने विषयमा निर्णय लिनेछ।
खड्काले पहिलोपटक पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउ प्रकरणबारे विज्ञप्ति जारी गर्नुभएको थियो। त्यसपछि चैत १८ गते बसेको अनुशासन समितिको बैठकले उहाँलाई कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी नगर्न सचेत गराएको थियो।
तर, त्यस चेतावनीपछि पनि गत सोमबार खड्काले पुनः कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयविरुद्ध अर्को विज्ञप्ति जारी गर्नुभएको बताइएको छ।
विज्ञप्ति सार्वजनिक भएलगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको हो। बैठकपछि थप कारबाहीबारे निर्णय सार्वजनिक हुने जनाइएको छ।
पार्टीका एक नेताले भन्नुभयो, “अहिले नै के गर्ने भन्ने अन्तिम निर्णय भएको छैन। बैठकमा छलफलपश्चात मात्रै स्पष्ट हुन्छ। तर केही न केही निर्णय अवश्य हुन्छ।”
यसअघि पनि खड्काले गत चैत १७ देखि १९ गतेसम्म कार्यवाहक सभापतिको हैसियतमा नवनिर्वाचित सांसदहरूलाई बधाई दिनुका साथै १४औँ महाधिवेशनबाट निर्वाचित आफूनिकट केन्द्रीय कार्यसमिति सदस्यहरूसँग छुट्टै छलफल गर्नुभएको थियो।
कांग्रेसभित्र पछिल्ला दिनमा नेतृत्व र संगठनात्मक गतिविधिबारे देखिएको मतभेदले पार्टीभित्रको आन्तरिक राजनीति थप पेचिलो बनेको विश्लेषण गरिएको छ।













प्रतिक्रिया दिनुहोस्