काठमाडौं, वैशाख १७ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालज्यूले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको छ ।
महासंघको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालज्यूले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब ८१ प्रतिशत योगदान र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रबाट भइरहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्र नै देशको वास्तविक “आर्थिक इन्जिन” भएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्म निजी क्षेत्रको महत्वपूर्ण संलग्नता रहेको छ । निजी क्षेत्रबिना मुलुकको समृद्धिको कल्पना गर्न समेत कठिन हुने उहाँको धारणा थियो ।
आफ्नो कार्यकालको समीक्षा गर्दै अध्यक्ष ढकालज्यूले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग सहकार्य गर्दै निजी क्षेत्रका साझा एजेन्डालाई अघि बढाइएको जानकारी दिनुभयो ।
“विगत तीन वर्षमा पुराना कानुनहरूको संशोधन तथा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन उल्लेखनीय पहल गरिएको छ,” उहाँले भन्नुभयो, “सरकार र निजी क्षेत्रबीच ‘पक्ष र प्रतिपक्ष’ जस्तो सम्बन्ध हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ।”
महासंघको आगामी नेतृत्व चयनबारे बोल्दै अध्यक्ष ढकालज्यूले सर्वसम्मत नेतृत्वका लागि आफूले अधिकतम प्रयास गर्नुभएको भए पनि त्यो सम्भव नभएको बताउनुभयो । उहाँले नयाँ नेतृत्वले निजी क्षेत्रका बाँकी कामहरूलाई पूर्णता दिने विश्वास पनि व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्