काठमाडौं, असार ४। सरकारले मासिक १०० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने तयारी गरेको जनाएको छ।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न निकायको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले यस्तो जानकारी दिनुभएको हो।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा माथिको विद्युत् खपतमा भ्याट लगाउने व्यवस्था प्रस्ताव गरेको थियो। तर बजेट पारित हुनुअघि नै उक्त सीमा पुनरावलोकन गरी बढाउने तयारी गरिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
“बिजुलीमा भ्याट भन्ने कुरा अन्तिम उपभोक्तामा भार नपर्ने गरी व्यवस्था गर्ने तयारी गरिरहेका छौँ। हामी निःशुल्क युनिटको थ्रेसहोल्ड बढाएर १०० वा १५० युनिटसम्म पुर्याउने विषयमा काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
सरकारको यो तयारी कार्यान्वयनमा आएमा कम विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले भ्याटको अतिरिक्त भारबाट राहत पाउने अपेक्षा गरिएको छ।
विद्युत् महसुलमा भ्याट लगाउने सरकारी प्रस्तावप्रति विभिन्न उपभोक्ता समूह तथा सरोकारवालाबाट आलोचना भइरहेका बेला अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई सम्भावित संशोधनको संकेतका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्