काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक खडकाले सरकारी जग्गा कब्जा गरेर महल ठड्याएको पाइएको छ । काठमाडौंको आकर्षक स्थान लैनचौरस्थित नेपाल स्काउटको ११ रोपनी जग्गा पूर्वराज्यमन्त्री खड्काले कब्जा गरेको पाइएको हो । खडकाले तीन रोपनी जग्गा भाडामा ११ रोपनी जग्गा कब्जा गर्नुभएको हो ।
खड्काको कम्पनी ‘खड्का डेभलपमेन्ट प्रालि’ले स्काउटसँग तीन रोपनी जग्गा भाडामा लिएको थियो । स्काउटसँग खड्का डेभलपमेन्ट प्रालिले ३ रोपनी जग्गाका लागि गरेको १० वर्षको सम्झौता गत साउन मसान्तबाट सकिए पनि अझै कब्जा गरेर बस्नुभएको छ । खड्काको कम्पनीले २०६६ भदौ १ गतेदेखि भाडा लागू हुने गरी स्काउटसँग १० वर्षका लागि सम्झौता गरेको थियो । सम्झौता सकिएपछि स्काउटले पटकपटक उक्त स्थान खाली गर्न पत्राचार गरे पनि खड्काको कम्पनीले अटेर गर्दै आइरहेको छ ।
स्काउटले गत भदौ २४ गते खड्का ल्यान्ड डेभलपमेन्टलाई एक महिनाभित्र उक्त स्थान खाली गर्न पत्र पठाएको थियो तर खड्काको कम्पनीले हालसम्म सो जग्गा खाली गराएको छैन । सम्झौता सकिएपछि स्काउटले उक्त कम्पनीसँग भाडा लिन समेत छाडेको छ । तर, ३ रोपनी जग्गा भाडामा लिएको कम्पनीले स्काउटको उक्त क्षेत्रको खाली चौर तथा पार्किङसमेत गरी झन्डै ११ रोपनी जग्गा उपभोग गर्दै आएको छ । सम्झौतामा ३ रोपनी जग्गा मात्रा भाडामा लिएको उल्लेख छ । तर खडकाको कम्पनीले सम्झौताविपरीत उक्त क्षेत्रको ५ रोपनी ९ आनामा व्यापारिक भवन बनाएर सरकारी सम्पत्ति हडपेर व्यापार गरिरहेको छ । कम्पनीले ५ रोपनी ९ आनामा बनाएको भवनमा ‘लैनचौर बैंक्वेट’ नामक पार्टी प्यालेस सञ्चालनमा ल्याएको छ ।
यस्तै, कम्पनीले सम्झौताभन्दा बाहिर गएर स्काउटको जग्गामा अर्को भवनसमेत बनाएको छ भने सोही भवनमा ‘माइ च्वाइस रेष्टुरेन्ट एन्ड बार’ सञ्चालनमा गरिरहेको छ । पार्किङका लागि दिएको जग्गामा भवन बनाएपछि कम्पनीले सोही क्षेत्रमा रहेको थप ६ रोपनी जग्गालाई पनि आफूअनुकुल पार्किङका रुपमा उपभोग गर्दै आइरहेको हो । स्काउटको उक्त जग्गाको पार्किङको शुल्कसमेत खडकाकै कम्पनीले उठाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्