काठमाडौं, मंसिर ३ । झापामा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब १०ः४० बजे राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–३ निवासी २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी गाउँपालिका–२ निवासी १७ वर्षीय अशोक राजवंशी रहेका छन् ।
दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
रातिको समयमा भएको उक्त दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्