काठमाडौं, मंसिर ४ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने हरिबोधिनी एकादशी मेलाका कारण आज त्रिभुवन राजपथमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मेला र भक्तजनको भीडभाडका कारण सवारी चाप बढ्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार आज शुक्रबार हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सवारीसाधनलाई कान्तिलोकपथ अर्थात् हेटौंडा–ठिंगन–सातदोबाटो मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
मन्दिर परिसर आसपासको सडक साँघुरो र भिरालो रहेकाले सवारी आवागमन सहज बनाउन यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ । मन्दिर वरपरको दुई किलोमिटर सडक एकतर्फी मात्रै सञ्चालन हुने भएकाले घण्टौँसम्म जाम हुन सक्ने प्रशासनको भनाइ छ ।
मेलाका कारण हेटौंडाको बुद्धचोकदेखि भैंसे बजार हुँदै पालुङ–नौबिसे खण्डको त्रिभुवन राजपथ र भैंसे बजारदेखि भीमफेदी–कुलेखानी–फर्पिङ–बल्खु जोड्ने छोटो मार्गमा समेत सवारी आवागमन प्रभावित हुने भएको छ ।
काठमाडौं र मधेसका विभिन्न जिल्लाबीच दैनिक सयौँ सवारीसाधन सञ्चालन हुने यी मार्ग प्रयोग गर्ने यात्रुलाई वैकल्पिक बाटो अपनाउन प्रशासनले आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्