काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री बालेन्द्र साह आइतबार भारत भ्रमणमा जानुहुने भएको छ। उहाँ आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री साह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री साहको भारत भ्रमण टोली ३४ सदस्यीय हुनेछ। भ्रमण टोलीमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी समेत सहभागी हुनुहुनेछ।
यसै गरी, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यवसायी टोली पनि भारत जाने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार व्यवसायीहरूको उक्त टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुन लागेको हो।
मन्त्रालयले प्रधानमन्त्रीको औपचारिक भ्रमण टोली ३४ सदस्यीय रहने स्पष्ट पारेको छ। औपचारिक भ्रमण टोलीबाहेक ५२ जना व्यवसायीसमेत भारत जाने भएपछि भ्रमणमा सहभागी हुने नेपालीको कुल संख्या ८६ जना हुने भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग साेमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री साह सहितकाे प्रतिनिधिमण्डलको सम्मानमा साे दिनकाे दिवाभाेज राख्नु भएकाे छ।
भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साहसँग आइतबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेकाे छ । साथै, दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री साहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नुहुने छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी रहेकाे छ।













प्रतिक्रिया दिनुहोस्