काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत भ्रमण स्वीकृत गर्नेदेखि बाढीपीडितका लागि अनुदान सहायता स्वीकार गर्नेसम्मका सातवटा निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमणलाई स्वीकृति प्रदान गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्यापिड क्रेडिट फ्यासिलिटी (RCF) अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने उद्देश्यले आवश्यक आदेश जारी गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गरेको छ । यसबाट जैविक विविधताको संरक्षण, दिगो उपयोग तथा प्राकृतिक स्रोतको व्यवस्थापनसम्बन्धी सरकारी नीति कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउन सम्पदा संरक्षणसम्बन्धी नम्र्स, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
बैठकले राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि स्वीकृत गरेको छ । यसले झोलुङ्गे पुलको निर्माण, व्यवस्थापन, संरक्षण तथा सुरक्षित आवागमनसम्बन्धी नीतिगत व्यवस्था गर्न मार्गनिर्देशन गर्नेछ ।
मन्त्रिपरिषद् बैठकका सात निर्णय
१. प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने तथा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
२. भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।
३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
४. नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आवश्यक आदेश जारी गर्ने ।
५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।
६. ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स, २०८३ स्वीकृत गर्ने ।
७. राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने ।













प्रतिक्रिया दिनुहोस्