जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १४:५७

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, सात दिनभित्र विश्वासको मत लिने


जनकपुरधाम, मंसिर ५ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयमा आज बोलाएर उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त हुनुभएको हो।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवले प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत अघि बढाउनुभएको छ। उहाँले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताउनुभएको छ।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार नियुक्त हुनुभएका मुख्यमन्त्री यादवले अब प्रदेशसभामा आफ्नो पक्षमा बहुमत जुटाएर सरकारको निरन्तरता सुनिश्चित गर्नुपर्नेछ।

मुख्यमन्त्री यादवको नियुक्तिसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। अब उहाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने विषयले आगामी राजनीतिक समीकरणलाई निर्धारण गर्नेछ।