काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि हुने बताउनुभएको छ। प्रधानमन्त्री बालेन्द्र साहका कार्यशैली र विभिन्न विषयमा गम्भीर असहमति रहे पनि राष्ट्रिय हित तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको सवालमा सबै एकजुट हुनुपर्ने उहाँको धारणा छ।
प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्श नगरी अगाडि बढ्ने कार्य संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यका दृष्टिले उचित नभएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “आन्तरिक राजनीतिका सन्दर्भमा प्रधानमन्त्रीज्यूको कार्यशैली र थुप्रै विषयप्रति हाम्रा गम्भीर असहमति हुन सक्छन्। अझ, सिङ्गो देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्शसमेत नगरी अगाडि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यको दृष्टिले उचित होइन।”
यद्यपि, आन्तरिक राजनीतिक असहमतिका कारण राष्ट्रिय हितका विषय ओझेलमा पर्न नहुने उहाँको स्पष्ट धारणा छ। परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने विषयमा राजनीतिक दलहरूले आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रिय स्वाभिमान र हितको पक्षमा उभिनुपर्ने उहाँले बताउनुभएको छ। महामन्त्री पौडेलले भन्नुभएको छ, “आन्तरिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि हुन्छ। परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुँदा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रको स्वाभिमान र हितको पक्षमा उभिनु हाम्रो साझा दायित्व हो।”
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राखेर विगतदेखि उठ्दै आएका द्विपक्षीय मुद्दाहरू स्पष्ट अडान र उच्च प्राथमिकताका साथ प्रस्तुत हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ। नेपाल र भारतबीचको ऐतिहासिक तथा जनस्तरको प्रगाढ सम्बन्धलाई सार्वभौम समानता, आपसी विश्वास र सम्मानका आधारमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै पौडेलले भ्रमणबाट नेपालको हितमा ठोस उपलब्धि हासिल हुने अपेक्षा गर्नुभएको छ।
प्रधानमन्त्री साह दुई दिने भारत भ्रमणका लागि आज त्यस तर्फ लाग्नु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्