काठमाडौं, माघ १५ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्नुभएका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा काठमाडौं महानगरपालिकाले उहाँहरुको पूर्ण कदको शालिक निर्माण गरेको छ ।
महानगरपालिकाले उहाँहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थानमा पूर्ण कदको शालिक निर्माण गरेको हो । गत वर्ष काठमाडौं महानगरपालिकाले नम्बर–१२ टेकुमा शहीद शुक्रराज शास्त्रीको शालिक निर्माण गरेको थियो । शास्त्रीलाई त्यहि खरीको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । त्यसैगरी माघ १३ गते वडा नम्बर– ७ सिफलस्थित धर्मभक्त माथेमालाई झुण्ड्याएरै मृत्युदण्ड दिइएको स्थानमा उहाँको सम्झनामा शालिक अनावरण गरेको थियो । आज अर्थात माघ १५ गते शहीदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानेर हत्या गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलि सभासँगै उहाँहरुको शालिक अनावरण गरिएको छ ।
सहिद सप्ताहको तेश्रो दिन आज आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले शहीदलाई सबैले चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले उहाँहरुलाई हत्या गरेको स्थानमा उहाँहरुको पूर्ण कदको शालिक निर्माण गरेको बताउनुभयो । ‘शहीदहरुलाई विर्से पनि उहाँहरुले गरेको योगदानलाई कसैले पनि विर्सन सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘हामी कसैले पनि उहाँहरु (चार शहीद) लाई भेटेका छैनौँ । तर, उहाँहरुले राष्ट्र र जनताप्रति गरेको योगदान हामी कसैले पनि भुल्न सक्दैनौँ । उहाँहरुको शालिक मुन्तिर उँभिएर उहाँहरुले देखाएको बाटो हिड्न प्रेरणा मिलोस भनेर हामीले पूर्णकदको शालिक निर्माण गरेका हौँ ।’
मेयर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको आहुती दिने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने पनि बताउनुभयो । ‘हामीले आजै मात्रै पनि गंगालालको नाममा स्थापना भएको गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता गरेका छौं । यो उहाँप्रतिको सम्मान हो,’ शाक्यले भन्नुभयो, ‘त्यस्तै भोलि धर्मभक्तको जन्मस्थल नजिक ओमबहालमा धर्मभक्त माथेमा पार्क उद्घाटन गर्दैछौं । सहिदको योगदानलाई चीर स्मरणीय बनाउन भौतिक पूर्वाधार, सुन्दर पार्क निर्माण तथा अन्य भौतिक संरचना र सेवासँग शहीदको नाम जोड्दै लैजान चाहन्छौँ ।’
संघीय संसद सदस्य जीवनराम श्रेष्ठले पनि शहीदहरुको सम्झनामा महानगरपालिकाले पूर्णकदको शालिक निर्माण गरेर निकै उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले शहीद सप्ताह मनाउँदै उर्दा उहाँहरुको योगदानको पनि कदर गर्नुपर्नेमा जोड दिनुभयो । श्रद्धाञ्जली सभामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग शहीदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गर्नुभयो । उहाँले अहिले हामीले उहाँहरुको सम्मान नगर्ने हो भने भोलिको पुस्ताले विर्सिने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै वडा नम्बर–१५का अध्यक्ष समेत रहनु भएका महानगरपालिकाका प्रवक्त ईश्वरमान डंगोलले पनि शालिक निर्माण गरेर शहीदहरुको सम्झना गरेको बताउनुभयो । उहाँले दुई ओटा शालिक निर्माणसँगै त्यहाँ शालिक राख्दा करीब १८ लाख खर्च भएको बताउनुभयो । धर्मभक्तको पुख्र्यौली घर रहेको स्थान वडा नम्बर–२३ झोँछेँमा बन्ने धर्मभक्त माथेमा पार्क’ भने करीब ४५ लाखको लगानीमा निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्