जनता टाइम्स

२० माघ २०७६, सोमबार १७:५७

दोलखाको तत्कालिन प्रजिअ रिजालविरुद्ध यस्ता मुद्दा भए दायर


काठमाडौं, माघ २०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध मुद्दा दायर गरेको छ । रिजालमाथी अख्तियारले ५ वटा मुद्दा दायर गरेको हो ।

आयोगले सोमबार रिजालविरुद्ध ५ वटा मुद्धा दायर गरेको छ । आयोगले विषेश अदालत काठमाडौंमा ४ वटा घूससम्बन्धी र एउटा अनुगमनमै नगइ भत्ता बुझेको आरोपमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । यसअघि एक अभियुक्तसँग धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए ।

अख्तियारले रिजाललाई फरक–फरक सेवाग्राहीसँग पटक–पटक ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै अनुगमनका नाममा ७७ हजार ६ सय भ्रमण भत्ता समेत लिएको आरोप रिजालमाथि लागेको छ ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका आरोपितसँग घूस लिएको आरोपमा रिजाललाई गत पुस १५ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । रिजाल अख्तियारको सहप्रवक्ता भइसकेका व्यक्ति हुन् ।