जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार ०९:४८

कोरोनाबारे भारतले आज थप निर्णय लिदै : नेपालतर्फका सिमानाका समेत बन्द गर्ने तयारी


काठमाडौं, चैत ६

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दक्षिणी छिमेकी मुलुक भारतले आज विशेष योजना घोषणा गर्ने भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राति ८ बजे देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

यसअघि नै विभिन्न राज्यमा सिनेमा हल, स्कुल बन्द भईसकेका छन् । सबैभन्दा बढि कर्नाटक राज्य प्रभावित भएको छ । भारतीय संचारमाध्यमका अनुसार सो राज्यमा कफ्र्युको जस्तो अवस्था पुगेको छ । भारतिय स्वास्थ्यकर्मीका अनुसार अहिले भारत कोरोनाको दोस्रो स्टेजमा रहेको जनाएका छन् । त्यो भनेको विदेशबाट आएका व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको छ । तर, अब यो विस्तारित हुदै गएको छ । तेस्रो चरणमा प्रवेश गर्ने तयारीमा रहेकाले आवश्यक सतकर्ता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

तेस्रो चरण भनेको स्थानीयबासीमा कोरोना भाइरस देखिनु । सोही विषयलाई मध्यनजर गरेर मोदीले सम्बोधन गर्न लाग्नु भएको हो । मोदीको सम्बोधन लगत्तै नेपालतर्फको सिमा समेत बन्द गर्ने आशंका धेरै रहेको छ । अहिले नेपाल र भारतका चार वटा नाकाबाट मात्र यात्रुहरु आवागमन हुने गरेको छ । उपभोग्य बस्तु भने सबै नाकाबाट निर्वाध रुपमा आवातजावत भईरहेको छ ।

नेपाल सरकारले पनि केही दिनका लागि सो चार नाका बन्द गर्ने प्रस्ताव भारतलाई पठाएको छ । नाकाबाट यात्रुलाई मात्र प्रवेशमा रोक लगाइने स्पष्ट दुवै पक्षले यसअघि नै गरिसकेका छन् । जसका कारण दैनिक उपभोग्य बस्तुहरु भने निर्वाध रुपमा आवातजावत हुनेछन् । बजारमा कुनै पनि उपभोग्य बस्तुको अभाव हुनेछैन ।