नयाँ दिल्ली, चैत्र २२
भारतको नयाँदिल्ली निजामुद्दिनमा भएको मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भेलामा सहभागी भएका पर्साका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
दुई साताअघिमात्र हरियाणाको अम्बाला पुगेका उनिसहित अन्य दशजना हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । उनीहरु दुई साताअघि बंगेलवाली मस्दिमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्लाका हुन् ।
दिल्ली, आन्ध्रप्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोनाका विरामीहरु सबैजसो तबलिगी भेलाका सहभागी भएको खुले पछि भारतको गृहमन्त्रालय र मातहतका निकायले सो भेलाका सबै सहभागीको खोजीलाई तिब्रता दिएको थियो ।
त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वरन्टाइनमा पठाएको थियो ।
कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेशनमा राखिएको थियो । र, गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । परीक्षणको रिपोर्ट बिहिबार साँझ आएको हो । जसमा ६६ वर्षीय नेपाली पुरुषको कोभिड १९ भाइरस देखिएको छ ।
कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालमा आइसोलेशनमा राखिएको छ । र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको अम्बाला जिल्लाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले जानकारी दिनुभयो । परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना देखिएन । अम्बाला पुगेका अन्य छ जना नेपालीको भने परीक्षण हुन बाँकी छ । र, उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य छ ।
प्रतिक्रिया दिनुहोस्