काठमाडौँ, जेठ ३
सरकारले भारतसँगको सीमामा प्रत्येक चार किलोमिटरमा एक बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) राख्ने लक्ष्य निर्धारण गरेको छ । भारततर्फ १ सय २० बीओपी रहेकोमा ३ सय ७० बीओपी थपेर ५ सय पुर्याउने योजना बनेको हो ।
नेपाली भूमि अतिक्रमणका घटना बढ्दै गएपछि सरकारले सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको उपस्थिति बढाउन लागेको हो । भारतसँग १ हजार ८ सय ८० किमि लम्बाईमा नेपालको सीमा रहेकोमा त्यसको सुरक्षार्थ करिब ४ सय ९० बीओपी पुर्याउने नीति लिइएको छ । जस अनुसार ३ दशमलव ८३ किलोमिटरमा एक बीओपी हुनेछ ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि बीओपी बढाइने उल्लेख गरेको छ । जस अनुसार ३ सय ७० बीओपी थप्ने तयारी भईरहेको उच्च स्रोतले जानकारी दिएको छ । जस अनुसार चालु आर्थिक वर्षमा दार्चुलाको छाङरुमा अस्थायी बीओपी स्थापना भईसकेको छ । केही महिना अघि मात्रै संखुवासभाको किमाथांका नाकामा पनि बीओपी राखिएको छ ।
यस्तै, चीनसँग १५ जिल्लाले सीमा छोएकोमा सामरिक सुरक्षा र व्यवसायिक प्रयोजनका नाका खुलाउने गरी आधा दर्जन बीओपी पुर्याइने छ । चीनसँग १५ जिल्लाको १ हजार ४ सय १४ किमि लम्बाइको भू–भाग जोडिएको छ । बढीमा २ वर्षभित्र हाल रहेका बीओपी संख्यालाई बढाएर २ सय २१ पुर्याइने छ । त्यसपछि आवश्यकता, प्राथमिकता र महत्वका आधारमा क्रमशः अन्य स्थानमा बीओपी विस्तार गरिने भएको छ ।
पहिलो चरणमा करिब ९ हजार जनशक्ति थपेर सशस्त्रको बीओपी विस्तार गर्न प्रस्ताव गरिएको छ । यसलाई नीति तथा कार्यक्रममै समेटिएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिए । चीनतर्फ मुस्ताङको कोरला, हुम्लाको हिल्सासहित मनाङ, बझाङ, ताप्लेजुङ, सिन्धुपाल्चोक, रसुवा र दोलखामा बीओपी राख्ने गरी खाका बन्ने क्रममा छ ।
प्रतिक्रिया दिनुहोस्