काठमाडौं, मंसिर २१
चन्द्रमाबाट माटो र ढुंगा लिएर पृथ्वी फर्किने अभियानमा रहेको चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ सफलता पूर्वक सही समयमा अर्बिटर–रिटर्नरसँग जोडिएको छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार स्थानीय समय (बेइजिङ्ग) अनुसार आइतबार बिहान पाँच बजेर ४२ मिनेट जाँदा चन्द्र कक्षमा च्याङ्ग’इ–५ अर्बिटर–रिटर्नरसँग सफलता पूर्वक जोडिएको हो । चन्द्रमाको कक्षमा चिनियाँ अन्तरिक्ष यानले ‘रनडेभू एण्ड डकिङ्ग’ सफलतापूर्वक गरेको पहिलो पटक हो ।
स्थानीय समय अनुसार बिहान ६ बजेर १२ मिनेट जाँदासम्म चन्द्र सतहबाट माटो तथा ढुंगा संकलन गरेको एसेन्डरले ती सामग्रीहरु सुरक्षित रुपमा रिटर्नरमा राखेका सिएनएसएले जनाएको छ । रिटर्नरले ती सामग्रीलाई पृथ्वीमा ल्याउने छ ।
यो अभियानमा सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ । त्यो बेला तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो । सबै तय गरे अनुसार भएमा चिनियाँ यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण हुनेछ ।
अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन् । हालको अभियानमा सफल भएमा चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्