सिरहा, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अव मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको प्रष्ट पार्नुभएको छ । सिरहा सदरमुकाममा आज आयोजित शहीद हेमनारायण यादवको १७ औँ स्मृतिसभालाई सम्बोधन प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
दुई साता अघि नेकपाबाट अलग हुनुभएका पुष्पकमल दाहाल, प्रचण्डले मांशहारी आन्दोलन चाहिने भन्दै आफ्नो टाउको चिलाएको बताएको सन्दर्भप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले शहिद हेमनारायणको स्मृतिमा कडा जवाफ दिनुभएको हो । ‘मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले अव हत्या गर्ने बिगतको जस्तो आन्दोलन सम्भव नभएकाले त्यस्तो कुनै धृष्टता नगर्न पनि सुझाउनु भयो ।
प्रधानमन्त्री ओलीले आफूले गरेको प्रतिनिधिसभा बिघटनको सिफारिशलाई राष्ट्रपतिबाट कार्यान्वयन भएको बिषय संबैधानिक रहेको बताउनु भयो । ‘केही मान्छेहरु संसद विघटनलाई असंवैधानिक रहेको तर्कवितर्क गरिरहका छन, त्यो झुटो कुरा हो, संसद विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले नयाँ जनादेशबाट मात्रै अर्काे सरकार बन्नुपर्ने र त्यो नै लोकतान्त्रिक हुने बताउनु भयो । ‘मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरुले संसद विघटन असंवैधानिक भएको भनिरहेका छन, उनीहरुले भने जस्तो संसद विघटन असंबैधानिक होइन, संवैधानिक छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुलुक अब पछाडि फर्किदैन, निर्धारित मितिमै चुनाव हुन्छ ।’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनतालाई अल्मलाउन खोज्ने र जनतालाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध गाउँगाउँमा जान नेता–कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । ‘नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्नेछ, हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छ, त्यसैले गरीबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौं, तपाईंहरु धैर्य गर्नुस, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
उहाँले व्यावहारिक रुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको बताउँदै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना, युवा स्वरोजगार, प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने जस्ता कार्य हुने जानकारी दिनुभयो । सम्बोधनको क्रममा प्रदेश नं २ मा निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिंचाइका पूर्वाधारको विकास, कलकारखाना स्थापनालगायत विकासनिर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी पनि उहाँले दिनुभयो ।
अब तराई–मधेश भएर बग्ने ठुल्ठुला नदी र कोशी–कमला डाइभर्सनलगायत सिंचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेकामापनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो । यसअघि प्रधानमन्त्री ओलीले सदरमुकामस्थित शहीद हेमनरायण यादवका शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्